निर्वाचन आयोगले समानुपातिक बन्द सुचीबाट अयोग्य ५५० जनाको नाम हटायो

राजनीति समाचार

कार्तिक ९, २०७९/काठमाडौं-

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको समानुपातिक सुचीबाट अयोग्य ५५० जनाको नाम हटाएको छ ।

अयोग्य हुनेमा धेरैजसो स्थानीय तह निर्वाचनमा खर्च  विवरण नबुझाएका उम्मेदवारहरु परेको आयोगले जनाएको छ ।

यसरी स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका तर खर्च विवरण नबुझाएर जरिवाना तिर्नुपर्ने ३६९ जनाको नाम बन्दसूचीबाट हटेको छ ।
उमेर नपुगेका प्रतिनिधिसभाका २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ ।

दोहोरो उम्मेदवारी परेकाले ६६ जनाको नाम हटेको छ भने एक जनाको सार्वजनिक पद धारण गरेको कारणले नाम सुचीबाट हटेको हो । महिला पुरूषको विवरण फरक परेका ३७ व्यक्तिको नाम पनि हटेको छ ।                        यसैगरी मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको बन्दसूचीबाट नाम हटेको छ ।