विश्वविख्यात कान्छा आरोही तामाङको राष्ट्रिय सम्मानकासाथ अन्त्यष्टी

पर्यटन राजनीति समाचार

असार २७, २०७९/काठमाडौं-

विश्वकै कान्छो आरोही शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । सोमबार काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसार तामाङको अन्त्यष्टी गरिएको हो । तामाङको अन्तिम विदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ पुगेका थिए । मन्त्री श्रेष्ठले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।


लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा गत असार २३ गते बिहान निधन भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको वैठकले तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो । नेपालको पर्वतारोहणबारे अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न र नेपालका हिमाल प्रचार गर्न तामाङले अतुलनीय योगदान गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । तामाङले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सन् १९७३ मे ५ का दिन सगरमाथा आरोहण गरेका थिए । तामाङकै पहलमा नेपाल पर्वतारोहण संघको स्थापना भएको हो । उनी तिलगंगा आँखा अस्पतालको संस्थापक पनि हुन ।

परिवारजनका साथ ठुलो संख्यामा पर्यटन व्यवसायी लगायतका शुभचिन्तकहरुको उपस्थिति थियो अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने समयमा ।