सदनमा आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु

राजनीति समाचार

३० जेठ, २०७९/काठमाडौं-

प्रतिनिधिसभामा आज देखि विनियोजन विधेयक, २०७९ माथि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने भएको छ ।

आइतबारको बैठक सम्म सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल चले पछि; सोमबार देखि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने भएको छ ।

सो अनुरुप आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

मन्त्रीहरुले जवाब दिने क्रममा करिब ३ दिन सम्म चल्ने सभामुख अग्नि प्रसाद सापकोटाका प्रेस बिज्ञ श्रीधर न्यौपानेले जानकारी गराए ।