बस दुर्घटना रुकुम पुर्व: ५ को मृत्यु

अन्तर्वार्ता

असोज ६, २०७९/रुकुम पुर्व-                                    रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङ्सीबगरमा भएको बस दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन । बिहिवार, काठमाडौंबाट रुकुमकोट तर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस जिल्लाको भूमे गाउँपालिका- २ खाबाङ नजिकै सो दुर्घटना भएको हो । मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ चारगाउँका ३६ वर्षिय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका वडा नम्बर ५ डालिबाङका वर्ष २३ का बुद्धिमान बुढा, सिस्ने गाउँपालिका वडा नम्बर ६ का २ वर्षिय बालक सिजन खड्का र उनकी आमा ४० वर्षिया लक्ष्मी खड्काको मृत्यु भएको छ ।

रामेछाप घर भएका बस चालक २६ वर्षिय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको हो । २ वर्षिय बालक सिजन र बुद्धिमानको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो । घाइते ४ जनाको बाँकेको कोहलपुर उपचार हुँदै छ ।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले सिस्ने गाउँपालिका वडा नम्बर ६ का ३६ वर्षिय लालबहादुर खड्का, सोही ठाउँका ६ वर्षिय साइमान खड्का र १९ वर्षिया निरुता थापा तथा रुकुम पश्चिम आठबीसकोट नगरपालिका १३ का ३५ वर्षिय डम्बर नेपालीलाई कोहलपुर  लगेको हो । बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।