ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

राजनीति

                                                                                     भाद्र २४, २०७९/                                                    यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्।

बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन्।

उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

उनले उनको प्रिय आमाको निधन एउटा “ठूलो दुःखको क्षण” भएको बताएका छन्।

राजा चार्ल्सले एक विज्ञप्ति जारी गर्दै भनेः “हामीले एक लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहिरो शोक मनाउनेछौँ। मलाई थाहा छ उनको अभाव देशभरि नै अनुभव गरिनेछ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरिका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।”

उनले भनेका छन् शोक र परिवर्तको अवधिमा उनी र उनको परिवारलाई ” महारानीलाई मानिसहरूले सम्मान व्यक्त गर्ने र गहिरो प्रेम गर्ने गरेको भन्ने जानकारी”ले सान्त्वना प्रदान गर्नेछ।                                                 

निधन

एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ, “आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ। राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्किनेछन्।”

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछि उनका सबै सन्तानहरू एबर्डीननजिकै रहेको बाल्मोरल गएका थिए।

महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए।

महारानी एलिजाबेथ द्वितीयाबाट मङ्गलवार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले “महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टानजस्तै भएको र उनले हामीलाई आवश्यक स्थिरता र शक्ति प्रदान गरेको” बताएकी छन्।

नयाँ राजाका बारेमा बोल्दै उनले भनिन्ः ” हामी उनीसमक्ष उनकी आमाले यति लामो समयसम्म यति धेरै मात्रामा व्यक्त गरेको जसरी नै हाम्रो निष्ठा र समर्पण प्रस्तुत गर्छौँ।”

“अनि दोस्रो एलिजाबेथ युगको अन्त्यसँगै हाम्रो महान् देशको उल्लेखनीय इतिहासमा हामी नयाँ युगको स्वागत गर्दछौँ, सम्भवतः ठिक महारानीले चाहना गरेको जस्तै गरी र भन्छौँ: गड सेभ द किङ (ईश्वरले राजाको रक्षा गरून् )।”  उनान्सय वर्षको उमेरमा सन् २०२१ मा फिलिपको निधन हुनुअगाडि आफ्नो झन्डै ७४ वर्ष लामो वैवाहिक सम्बन्धका दौरान फिलिपलाई एलिजाबेथले ‘मेरो शक्ति र आडभरोसा’ भनेर व्याख्या गरेकी थिइन्।

उनीहरूका पहिलो छोरा चार्ल्सको जन्म सन् १९४८ मा भएको थियो। प्रिन्सेस एनको जन्म सन् १९५० मा, प्रिन्स एन्ड्रूको जन्म १९६० मा अनि प्रिन्स एड्वर्डको जन्म सन् १९६४ मा भएको थियो। उनीहरूबाट एलिजाबेथका कुल आठ नातिनातिना अनि १२ पनातिपनातिना भए।

राज्यारोहण

सन् १९५२ मा तत्कालीन अस्वस्थ राजाको प्रतिनिधित्व गर्दै केन्या भ्रमणमा रहेका बखत फिलिपले एलिजाबेथलाई उनको बुवाको निधन भएको खबर सुनाएका थिए। तत्कालै उनी नयाँ महारानीको रूपमा लन्डन फिर्ता भइन्।

सन् १९५३ को जुन २ मा एलिजाबेथलाई वेस्टमिन्स्टर एबीमा आयोजित समारोहमा राज्यारोहण गराइयो। सत्ताइस वर्षको उमेरमा उनले गद्दी सम्हालेको समारोहको दृश्य त्यतिखेर रेकर्ड गरेर टेलिभिजनमा देखाइँदा दुई करोडभन्दा धेरै मानिसले हेरेका थिए।

त्यसपछिका दशकहरूमा ठूला परिवर्तन भए। विदेशमा ब्रिटिश साम्राज्यको अन्त्य भयो अनि सन् १९६० ताका सामाजिक मूल्यमान्यतामा पनि व्यापक परिवर्तन आयो।

उक्त युगअनुकूल एलिजाबेथले राजतन्त्रमा पनि सुधार ल्याइन्, सामान्य हिँडडुल, शाही भ्रमण तथा सार्वजनिक समारोहमा उपस्थितिमार्फत् उनले सर्वसाधारण मानिससँग अन्तर्क्रिया गरिन्।

राष्ट्रमण्डलप्रति उनको प्रतिबद्धता निरन्तर रह्यो। उनले राष्ट्रमण्डलका प्रत्येक सदस्य राष्ट्रको कम्तीमा एकचोटि भ्रमण गरिन्।

समर्पणको वाचा

तर उनको जीवनमा निजी तथा सार्वजनिक पीडाका समय पनि थिए। सन् १९९२ महारानीका निम्ति खराब वर्ष रह्यो जब आगलागीले विन्डसर कासलमा ठूलो क्षति भयो। उक्त दरबार महारानीको निजी निवासका साथै काम गर्ने स्थल पनि थियो। अनि उनका तीन सन्तानको विवाह समस्याग्रस्त भए।

प्रिन्सेस अफ वेल्स राजकुमारी डायनाको प्यारिसमा भएको कार दुर्घटनामा सन् १९९७ मा निधन भएपछि तत्काल सार्वजनिक प्रतिक्रिया दिन गाह्रो मानेको भन्दै महारानीको आलोचना पनि भयो।

आधुनिक समाजमा राजतन्त्रको सान्दर्भिकताबारे पनि प्रश्नहरू उठे।

“कुनैपनि संस्थाले … तीप्रति बफादारी तथा समर्थन नजनाउनेहरूको त कुरै छाडौँ, बफादार एवं समर्थकहरूका निगरानीबाट समेत मुक्त हुने आश गर्नु हुँदैन,” उनले भनेकी थिइन्।

एक्काइस वर्षकी राजकुमारीकै रूपमा पनि एलिजाबेथले आफ्नो जीवन सेवामा समर्पण गर्ने वाचा गरेकी थिइन्।

सन् १९७७ मा आफ्नो शासनकालको रजत वर्षका बेला उनले ती वाचा सम्झिइन् र भनिन्: “हुन त अनुभवहीन समय र उमेरका बेला मैले त्यस्तो वाचा गरेकी थिएँ। तर त्यसको मलाई कुनै पछुतो छैन। म त्योबेलाको कुनै शब्द परिवर्तन गर्न चाहन्नँ।”

सोही वाचा उनले त्यसको ४५ वर्ष पछि पुन: दोहोर्‍याइन्। यसै वर्षको जुन महिनामा शासनकाल ७० वर्ष पुगेको अवसरमा मनाइएको प्लेटिनम जब्ली महोत्सवका बेला उनले राष्ट्रलाई लेखेको पत्रमा उनले ती वाचा दोहोर्‍याएकी थिइन्।

उक्त महोत्सवलाई ब्रिटिश शैलीमा आधिकारिक समारोहहरू अनि जीवन्त सडक उत्सवहरूसहित मनाइयो।

स्वास्थ्यस्थितिका कारण महारानी कतिपय समारोहमा उपस्थित नभए पनि उनले भनेकी थिइन्: “मेरो मन तपाईँहरूसँगै छ।”