मगरहरुको प्रमुख पर्व भुमे आज देखि सुरु

अन्य मनोरञ्जन समाचार

असार १, २०७९-

मगर समुदायको प्रमुख पर्व भुमे आज देखि सुरु भएको छ । असार १ गते देखि सुरु हुने भुमे पर्वमा प्रकृति पुजक मगरहरुले भुमिको पुजा गरेर मनाउछन । बर्षायामको सुरुवातसंगै प्राकृतिक प्रकोप न आओस भन्दै अन्न बालीको संरक्षनको कामना गर्दै, भुमे पर्व मनाउने गरिन्छ । सबै कुरा भुमिमा निर्भर भएकोले यस पर्वको सुरुवात भएको देखिन्छ । भुमे पुजा नगरिए भुम्या देवता रिसाएर अनिष्ठ हुने र बाढि पहिरोले क्षति पुर्याउँने भन्ने धार्मिक मान्यताका कारणले भुम्या देवतालाई कुनै कमजोरी भएमा माफी माग्दै यो पुजा गरिन्छ । यसले मगरहरुको कला संस्कृति भेषभुसा र एकता पनि झलकाउछ । विशेषगरि खाम भाषा बोल्ने मगरहरुको बाहुल्यता भएको भेगमा यो पर्व निकै हर्ष उल्लासकासाथ मनाइन्छ । रोल्पा रुकुमका गाउँहरुमा असार १ देखि ५ गतेसम्म भुमे नाच नाचेर खुसियालीकासाथ पर्व मनाइने गरिन्छ ।

यो पर्व मनाउन र परिवार आफन्तजनसंग भेटघाटका लागि घरबाट विभिन्न कामका लागि टाढा पुगेका मानिसहरु पनि  गाउँ आइपुग्छन । आजभोली भने मगरहरु आफुहरु बसोबास गरेका सहरहरुमा पनि भेला भएर भुमे मनाउने गर्छन । दाङ, बाँके, रुपन्देही, काठमाडौंका साथै भारत, अमेरिका र युरोपमा समेत त्यहाँ पुगेका मगरहरुले भुमे पर्व मनाउने र कला संस्कृति प्रदर्शन गर्ने चलनको सुरुवात भएको छ । युवा युवती र सबै उमेर समुहका मानिस गाउँमा भएको बस्तिलो वा फराकिलो मैदानमा भेला भएर वृद्ध वा जेष्ठ नागरिकको अगुवाईमा पुजाको प्रक्रिया पूरा गरि नाचमा सरिक हुन्छन । तर आज भोलि मगर पोशाक लगाउने चलनमा परिमार्जन हुँदै गएको छ ।

रुकुम पूर्वमा एउटा गाउँपालिकाको नाम नै भुमे पर्वको सम्मानमा भुमे राखिएको छ । त्यहाँ मगर समुदायको बाक्लो बसोबास छ । केही दुरिमा रोल्पाको थबाङ रहेको छ जहाँ बडो उत्साहकासाथ भुमे मनाइन्छ । समयको माग र चेतनामा अभिवृद्धिका कारणले मगर संस्कृतिको जगेर्नामा आज भोलि युवा पुस्ता पनि सकृय देखिन्छ ।