युक्रेन युद्ध: समुद्रबाट अन्न निर्यातका लागि रुससँग सम्झौतामा हस्ताक्षर

राजनीति विश्व समाचार

श्रावण ७, २०७९

युक्रेन र रुसले किएभलाई मृतसागर हुँदै अन्न निर्यात गर्न बाटो खोल्ने एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्।

पछिल्लो सम्झौताले युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्न बाटो खोल्ने छ।

दुवै पक्षले इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा भाग लिएका थिए तर उनीहरू एउटै टेबुलमा भने बसेनन्।

सम्झौतामा हस्ताक्षर

रुसी रक्षामन्त्री सर्गेइ सोइगुले सुरुमा हस्ताक्षर गरे। त्यसपछि युक्रेनी पूर्वाधारमन्त्री ओलेक्सान्डर कुब्राकोभले किएभका तर्फको हस्ताक्षर गरेका थिए।

उक्त सम्झौतामा पुग्न दुई महिना लागेको थियो। र सो सम्झौता १२० दिन कायम रहने भनिएको छ र त्यसको समन्वय एवं अनुगमन केन्द्र इस्तानबुलमा स्थापना गरिनेछ जसमा राष्ट्रसङ्घ, टर्की, रुस र युक्रेनका कर्मचारीहरू राखिनेछ।

दुवै पक्षको सहमतिमा सम्झौतालाई फेरि नवीकरण गर्न सकिने पनि भनिएको छ।

युक्रेनी अन्न आपूर्तिमा लगाइएको बन्देजले विश्वव्यापी खाद्य सङ्कट निम्त्याएको थियो र गहुँबाट बन्ने पाउरोटी र पास्ताको मूल्य उच्च भएको थियो। त्यसबाहेक खाना पकाउने तेल र मलक

ह्वाइट हाउसका प्रवक्ता जन किर्बीले विश्वका अति जोखिममा रहेका व्यक्तिहरूलाई थप असुरक्षा र कुपोषणबाट जोगाउन त्यस्तो गर्नु आवश्यक रहेको टिप्पणी गरे।

सम्झौतामा के छ?

यसअघि रुसी रक्षामन्त्रीले उक्त सम्झौताले आगामी दिनमा समाधानको सुरुवात गराउन सक्ने बताएका थिए।

“मैले युक्रेनबाट कृषिजन्य उत्पादनको आपूर्तिको मात्रै कुरा गरिरहेको छैन। हामी रुसी बन्दरगाहबाट कृषिजन्य उत्पादन र मलको आपूर्ति गर्ने दिशामा पनि काम गर्न सक्छौँ,” उनले थपे।

कूटनीतिज्ञहरूका अनुसार सम्झौताका मुख्य व्यवस्था यस्तो छन्:

  • रुसले सामानहरू गन्तव्यतर्फ पठाइँदै गरेको अवस्थामा बन्दरगाहहरूलाई निशाना बनाउने छैन,
  • युक्रेनी पानीजहाजहरूले धराप बिछ्याइएका समुद्री क्षेत्रमा कार्गो पानीजहाजहरूलाई बाटो देखाउने छन्,
  • राष्ट्रसङ्घको सहयोगमा टर्कीले पानीजहाजहरूको निरीक्षण गर्नेछ र हातहतियार तस्करी हुनसक्ने रुसी भय सम्बोधन गरिने छ र
    • मृतसागरबाट हुने रुसी अन्न र रासायनिक मलको आपूर्ति सहजीकरण गरिने छ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले उक्त निकायको नेतृत्व सम्हालेपछि आफूले गरेका सम्भवतः सबैभन्दा महत्त्वपूर्ण कामका रूपमा उक्त घटनालाई चित्रित गरेका छन्।

    “आज मृतसागरमा उज्यालो छाएको छ,” इस्तानबुलमा उनले भने। “यो आशाको प्रकाश हो।”

    दुई करोड टनभन्दा बढी युक्रेनी अन्नको आपूर्ति हुने सम्भावना देखा परेसँगै शुक्रवार विश्व बजारमा गहुँको मूल्य दुई प्रतिशतले घटेको थियो।

    शुक्रवारको आफ्नो रात्रिकालीन सम्बोधनमा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशसँग झन्डै १० अर्ब डलर बराबरको बिक्रीयोग्य अन्न रहेको बताएका थिए।

    उनले मस्कोले ‘उत्तेजनात्मक गतिविधि गर्न सक्ने र युक्रेनी र अन्तर्राष्ट्रिय प्रयासलाई बदनाम गराउने कोसिस गर्न सक्ने’ चेतावनी दिए।

    सम्झौता सुनिश्चित गर्ने जिम्मेवारी राष्ट्रसङ्घको भएको उल्लेख गर्दै उनले भने, “तर हामी संयुक्त राष्ट्रसङ्घलाई विश्वास गर्छौँ।”

    तर महासचिव गुटेरसले बीबीसीलाई सम्झौता उल्लङ्घन गरेको खण्डमा रुसलाई दण्डित गर्ने विधि राष्ट्रसङ्घसँग नभएको बताए।

    त्यस्तो अवस्थामा एउटा पूर्ण रूपमा अस्वीकार्य ठूलो स्तरको विवाद उत्पन्न हुने र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले गम्भीर रूपमा प्रतिक्रिया जनाउने उनको भनाइ थियो।

    सोइगुले रुसले आफ्ना दायित्वहरूलाई मान्ने भन्दै बन्दरगाहहरू खुला रहेका कारण अन्य फाइदा नलिइने टिप्पणी गरे।

    युक्रेनका बन्दरगाहहरूमा नाकाबन्दी लगाएको आरोप रुसले सधैँ अस्वीकार गर्दै आएको छ।

    उसले युक्रेनलाई समुद्रमा धराप बिछ्याएको र पश्चिमा प्रतिबन्धहरूले रुसको आपूर्तिलाई सुस्त पारेको बताउने गरेको छ।

    अफ्रिकाका पत्रिकाहरूमा लक्षित एउटा लेखमा रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले’युक्रेन र पश्चिमा जगतले आधारहीन आरोपहरू’ लगाइरहेको बताएका छन्।

    उनले ‘युक्रेन र वरपर भइरहेका घटनाक्रमबारे अफ्रिकीहरूले सन्तुलित धारणा राखिरहेको’ समेत जनाएका छन्।

    युक्रेनले अन्न र अन्य आयातजन्य सामाग्रीहरूलाई आपूर्ति गर्नबाट रुसी जलसेनाले रोक्दै आएको बताउने गरेको छ।

    उसले युक्रेनी कृषि क्षेत्रबाट त्यस्ता क्षेत्र कब्जा गरेका रुसी फौजहरूले अन्न समेत चोरेको आरोप लगाएको छ।

    सुख्खा, कोभिड-१९ महामारी र युक्रेनको युद्धका कारण उक्त क्षेत्रले चरम खाद्य सङ्कटको सामना गरिरहेको छ