हारेका वडा सदस्यद्वारा टोलमा सरसफाई अभियान !

अन्य समाचार स्वास्थ्य

जेठ २८, २०७९/काठमाडौं-
एकाबिहानै नयाँ बानेश्वर थापागाउँस्थित सरस्वती टोलमा पार्वती भट्टराई झाडु लिएर निस्किन । उनी निस्किने बित्तिकै टोलका अरु दुई जना महिला पनि झाडु लिएर निस्किए । माथी पसलनेर गई पुग्दा गल्ली भित्रबाट अरु पुरुषहरु खाली बोरा लिएर आए । हेर्दा हेर्दै अगेल्नो दिनको सल्लाह अनुसार सबै जना भट्टराईको पछि पछि लागे । छलफल भयो । समूह बिभाजन गरेर विभिन्न ठाउमा सरसफाई सुरु भयो । किशोर किशोरी देखि वृद्धसम्म सामेल भए । हरेक घरबाट एक जना ब्यक्तिको अनिवार्य उपस्थिति रह्यो । एउटा पुस्तिकामा हाजिर पनि गराइयो ।

“यो सरसफाई अभियानले निरन्तरता पाई रहन्छ र हामी हरेक सनिवार बिहान ७ बजे देखि जुटछौ र आफ्नो टोल आफै सफा गर्छौं,” भट्टराई भन्दै थियिन । उनकै पहलमा टोलमै पाँच हजार लिटरको पानी ट्यांकी राखिएको छ, सार्वजनिक प्रयोगका लागि ।

“निर्वाचन जित्ने हार्ने भन्ने ठुलो कुरा होइन, खासमा सामुहिकतामा ठुलो शक्ति हुन्छ । त्यसलाई सहि परिचालन गर्न सके, सधै राज्यको मुख ताक्नु पर्दैन,” उनको बुझाई छ । ” विभिन्न स्थानहरुमा दस्टबिन पनि राख्ने योजना बनेको छ ।

“यसै बहानामा छरछिमेकीमा को को बस्छन भन्ने कुरा पनि थाहा हुन्छ । हाम्रो ब्यस्त जीवनमा हामी सबै आत्म केन्द्रित भई सकेका छौँ । यहाँ कसैलाई कसैको प्रवाह छैन । यस्तो कार्यमा एक अर्कासंग भेटघाट पनि हुन्छ, ” उनी भन्छिन ।  यसैगरी टोलका महिलाहरुको एउटा समूह बनेको छ र बचत गर्ने पनि गरिएको छ । सफल न भए पनि उनी काठमाडौं महानगरपालिका-१० बाट २०७९को स्थानीय निर्वाचनमा नेकपा(माओवादी केन्द्र)को तर्फबाट वडा सदस्यको उम्मेदवार बनेकी थियिन ।