‘गरिबको चमेली’ गीत पाँच दशकअघि यसरी रचिएको थियो

मनोरञ्जन राजनीति समाचार साहित्य

असार ३० २०८०/काठमाडौं-

बालेन्द्र शाहले तीन वर्षअघि वर्तमान राजनीति र अव्यवस्थाप्रति व्यङ्ग्य गर्दै एउटा र्‍याप गीतको भिडिओ सार्वजनिक गरे। त्यसमा ‘देश लुटिएको’ र ‘कानुन-व्यवस्था नभएको’ जस्ता प्रश्न उठाइएका थिए।

र्‍याप विधाको हुँदाहुँदै पनि त्यसको बीचबीचमा एउटा लोकभाकाको ‘जनवादी’ गीतका दुई पङ्क्ति समाविष्ट थिए।

गाई त बाध्यौ ढुङ्ग्रोमा मोही छैन, मोही छैन

गरिबको चमेली बोल्दिने कोही छैन।

गरिबको बोल्दिने कोही छैन, कोही छैन

गरिबको चमेली बोल्दिने कोही छैन।

र्‍यापर बालेनका रूपमा चिनिने तिनै शाह अहिले काठमाण्डू महानगरपालिकाको मेयर छन्।

अनि ‘बलिदान’ शीर्षक दिइएको र्‍याप गीतमा जोडिएका तिनै पङ्क्ति अहिले उनका कतिपय गतिविधिविरुद्ध विरोध प्रदर्शनमा प्रयोग भइरहेका छन्।,

नगरप्रहरीले एकजना साइकल व्यापारीलाई दुर्व्यवहार गरेको भिडिओ ‘भाइरल’ भएसँगै बुधवार केही व्यक्तिहरूले महानगरपालिकाको मूलद्वारमा पुगेर तिनै पङ्क्तिहरू गाउँदै विरोध जनाए।

बालेनले कुनैबेला आफ्नै गीतमा जोडेका र स्थानीय तहको चुनावअघि भोट माग्ने क्रममा समेत प्रयोग भएका ती लोकभाकाका पङ्क्तिहरू भने करिब पाँच दशकअघि भिन्नै प्रसङ्गमा लेखिएका थिए। र, पछि ‘क्रान्तिकारी’ धारको मानिने ‘बलिदान’ नामक चलचित्रको गीतमा समावेश भएका थिए।

यसरी रचियो ‘गरिबको चमेली’ गीत

विसं २०२३ सालतिर बनेको एउटा साङ्गीतिक टोलीको नाम थियो- राल्फा समूह।

त्यसका सदस्य थिए- मेघराज शर्मा नेपाल (मञ्जुल), हरि श्रेष्ठ (नोरेम), खगेन्द्र बस्नेत (सिमोस) निरञ्जन चापागाई (निनु), नारायणभक्त श्रेष्ठ (रायन), रामेश्वर श्रेष्ठ (रामेश), अरुण-ऋषि-मनोज (अरिम) लगायत।

त्यसका सदस्यहरूका भनाइमा राल्फा समूहले त्यस बेलाको पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँ गएर गीतको माध्यमबाट जागरण फैलाउने काम गर्थ्यो। सँगसँगै लोकगीत र त्यसका लयलाई पनि सङ्कलन गरिरहेको थियो।

त्यसैक्रममा विसं २०२८ सालतिर उक्त समूहका दुईजना सदस्यहरू मञ्जुल र रामेश काठमाण्डूबाट निस्किएर पूर्वाञ्चलतर्फ लागेका थिए।

एकदिन उनीहरू रामेछापको मन्थलीस्थित मुगीटारमा बास बसे। भोलिपल्ट मुगीटारको चौतारोमा उनीहरूले गीत गाए।

“हामीले गीत गाउँदै गर्दा त्यहाँका मानिसहरूले हामीलाई एकजना सानी नानीलाई देखाउँदै ‘यीनले पनि राम्रो गीत गाउँछिन्’ भने,” पाँच दशकअघिको घटना स्मरण गर्दै रामेशले बीबीसीसँग भने।

“हामीले फकाइफुल्याइ ती नानीलाई गीत गाउन लगायौँ। उनले दुईवटा हँसिया ठोकठाक गरेर ताल निकाल्दै लोकभाकामा गीत गाइन्।”

उनले गाएको गीतमा शब्दहरू प्रेमसँग सम्बन्धित थिए।

त्यो भाका रामेश र मञ्जुललाई मन पर्‍यो। उनीहरूले त्यसलाई टिपोट गरे। अनि, बाटो लागे।

रामेश भन्छन्, “पछि हामीले त्यो भाकामा आफ्नै शब्दहरू राखेर ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत लेख्यौँ। मैले त्यसमा सङ्गीत भरेँ।”

चलचित्रमा समावेश

पञ्चायत ढलेर देशमा प्रजातन्त्र आएपछि विसं २०५० को दशकमा बनेको चलचित्र बलिदानमा उक्त गीत समावेश भयो।

चलचित्रमा समावेश हुँदा राल्फा समूहमा पहिले गाउने केही गायक छुटे भने केही नयाँ थपिए।

रामेशका भनाइमा पहिले गाउँगाउँमा चर्चित भएको उक्त गीत चलचित्रमा आएसँगै विभिन्न सञ्चारमाध्यममा प्रसारण हुन थाल्यो र थप चर्चित भयो।

त्यसयता लगातार विभिन्न आन्दोलनमा उक्त चलचित्रमा समावेश भएका ‘जनवादी’ गीतहरू बज्ने गरेका छन्। त्यसमध्ये एउटा यो पनि सधैँ पर्ने गरेको रामेश बताउँछन्।

गीत विरोध प्रदर्शनमा प्रयोग भएको हुनसक्ने उनी ठान्छन्।

उनले बालेनले चुनावकै बेलामा समेत उक्त गीतका हरफहरू राखिएको आफ्नो र्‍याप गीत बजाएको आफूले थाहा पाएको बताए।

यद्यपि “देशमा बढ्दो बेथितिविरुद्ध लड्न एउटा युवाले प्रयोग गरेको देखेर” आफूहरूले “अनुमतिविनै प्रयोग हुँदा पनि” आपत्ति नजनाएको उनको भनाइ छ।

बालेनलाई रामेशको सुझाव

यद्यपि उनी सामाजिक सञ्जालमा भाइरल भएका भिडिओहरू देखेर विचलित भएका छन्।

त्यसैले उनले बुधवार महानगरपालिका अगाडि भएको प्रदर्शनको समाचार देखेपछि त्यसलाई फेसबुकमा शेअर गरे र बालेनलाई सुझाव दिँदै एउटा पोस्ट लेखे।

उनले लेखेका छन्, “गरिबलाई, दु:खीलाई नकुट्नुहोस्। कामगरी खानेको अङ्गभङ्ग नगर्नुहोस्। गरिबको कमाइमा देश चलेको छ।”

“गरिबलाइ रोजगारीको व्यवस्था गर्नुहोस्। उनीहरूको सम्मान गर्ने अभियान चलाउनुहोस्। अनि मात्र बालेन हामी सबैको हुनेछ। आफूले पाउँदै गरेको जनआस्थाको सम्मान गर्नुहोस्।”

BBC