
बिगत लामो समय देखि नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याएका सफल पर्यटन ब्यवसायी तथा NEPAL ASSOCIATION OF TOUR & TRAVEL AGENTS (NATTA)का अध्यक्ष रमेश थापासँग गरिएको कुराकानी ।
नाट्टाको स्थापनाको बिषयमा केही जानकारी दिनु हुन्छ की ?
-नेपालमा बिदेशी पर्यटक घुम्न आईरहने जतिबेला पर्यटन मन्त्रालय स्थापना भएको थिएन; त्यतिबेला आएका पर्यटकलाई घुमफिर गर्न र गन्तव्यसम्म पुर्याउन पर्यटन क्षेत्रमा लागेका अग्रजहरुले पर्यटनबाट आयश्रोत वृद्धि गरि देशको आर्थिक उन्नतिमा भुमिका पुर्याउन र त्यसबाट रोजगारी सृजना गर्न र सरकारलाई कर तिरेर देशको आर्थिक उन्नतिमा सहयोग पुर्याउन बि.स.१९६६ म यसको स्थापना भएको हो ।
यसले गर्ने मुख्य काम तथा उदेश्य के के रहेका छन ?
-व्यवसायी र पर्यटकहरुलाई आउने समस्या समाधान गर्न नीति निर्माण गरि सहजता प्रदान गर्ने । स्वदेश तथा बिदेशमा पर्यटन प्रबर्द्धनका लागि कार्यक्रम गर्ने । ल्यान्ड ट्रान्सपोर्ट र एयर कनेक्टिविटीका लागि पहल गरेर सरल र सुलभ तरिकाले यसमा लागिपर्ने किनभने यातायात बिना यात्राको कल्पना गर्न सकिदैन । स्वदेशमा रहेका विश्व सम्पदा (UNESCO)मा सुचिकृत रहेका लुम्बिनी, पशुपति, काठमाडौ दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायत विभिन्न पर्यटकीय स्थलको प्रबर्द्धन गरेर बिदेशी मुद्राको आय आर्जन गरेर देशको आर्थिक उन्नतिमा टेवा पुर्याउने र रोजगारीको सृजना गरेर व्यवसायलाई अगाडि बढाउने ।
हजुरले नाट्टाको नेतृत्व गरेको कति भयो र यसको कार्य अबधि कति बर्षको हुन्छ ?
-मैले नाट्टाको नेतृत्व गरेको २२ महिना भयो र यसको अबधि २ बर्षको हुन्छ । पहिलो बर्ष सम्मेलन तथा साधारणसभा हुन्छ र दोस्रो बर्ष साधारणसभा तथा चुनाव हुन्छ ।
यसको कार्यसमिति कति जनाको हुन्छ र विभिन्न तहमा सङ्गठनको विकास तथा बिस्तारको अबस्था के रहेको छ ?
-यसको कार्यसमितिमा १५ जना निर्वाचित भएर आउछन्, २ जना मनोनीत भएर आउछन् र १ जना प्रादेशिक उपाध्यक्ष भएर आएको हुन्छ । यसरी जम्म १८ जनाको कार्यसमिति रहन्छ । ७ वटै प्रदेशमा नाट्टाको सङ्ठन अथवा प्रदेश कार्यसमिति बिस्तार भईसकेको अवस्था छ ।
तपाईंले नेतृत्व लिईसकेपछि गरेका नयाँ कामहरु केके छन् त ?
-विशेष त प्रत्येक नयाँ कार्यसमिति आईसकेपछि विगतमा भईरहेका कार्यहरूलाई नै निरन्तरता दिदै आफ्नो कार्यकालमा केही थप कार्यक्रम गर्ने उदेश्य रहन्छ हामीले पनि विगतका नेतृत्वले गर्दै आएका जति पुर्ण भएका थिएनन् ती कामहरू गर्दैछौ । कार्यकालमा आएका समस्या फेस गर्ने क्रममा जस्तो हवाई टिकटमा भ्याट लगाइए पछि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय लगायत सम्बन्धित सबै निकाय तथा व्यक्तिलाई गुहार गर्दा पनि केही लागेन र व्यवसायीहरु नै आन्दोलनमा उत्रिनु पर्यो । यसैबीच Buddhist International Travel Mart को आयोजना लुम्बिनीमा गरियो । बुद्ध धर्मावलम्बीहरु बसोबास गरेका राष्ट्रहरुको उपस्थिति रहेको थियो ।
जिम्मेवारी पूरा गर्ने क्रममा सहयोग अथवा अबरोध के कस्तो पाउनु भएको ?
-नेतृत्व लिईसकेपछि विवाद, कडा छलफल हुन्छन यी कुरा सामान्य हुन । खास भन्नुपर्दा हिजोको दिनमा मैले हेर्दा गाडी चढेको छ, आफ्नो शोख पूरा गरेको छ जस्तो लाग्थ्यो र जो कोहि उच्च ओहोदामा बसेको मान्छेलाई आहा जस्तो लाग्थ्यो तर बास्तबिकता फरक रहेछ । नेतृत्वले बोकेको भारी कति चुनौतीपूर्ण हुन्छ भन्ने कुरा महसुस गर्दैछु । कतिपयबाट सहयोग, कसैबाट सुझाब, बिरोध सबै कुराबाट सिक्दै अघि बढेको छु ।
यस समितिमा महिला सहभागिता र सहभागी महिलाको कार्यप्रतिको उत्साह के कस्तो रहेको छ ?
-महिलाको सम्मानजनक सहभागिता छ । चुनावी प्रकृयाद्वारानै समितिमा आउने हो । अहिले ५ जना महिलाहरु हुनुहुन्छ । उहाँहरु उत्साहजनक रुपमा काम गरिराख्नु भएको छ ।
पर्यटन ब्यबसायलाई अझै राम्रो गराउन राज्यले के गर्नुपर्ला ?
-पर्यटन प्रबर्द्धन गर्न जुन नेपाल पर्यटन बोर्ड मोडालिटीमा स्थापना गरेर राखिएको छ र उसले सरकार र निजि क्षेत्रसँग समन्वय गरेर एउटा राम्रो तरिकाले व्यावसायीहरुलाई समावेस गरेर पर्यटन प्रबर्द्धन गर्न जुन बिदेश र स्वदेशमा हुने काम कुरालाई गर्न सकेको छैन । अहिले २ अर्ब बजेट छ त्यही पनि खर्छ गर्न सकेको अवस्था छैन । कहिले मन्त्रालयसँग कहिले निजि क्षेत्रसँग भएको हुनाले अलिकति नेपाल पर्यटन बोर्डलाई re-structuring गरेर त्यहाँ भएका जतिपनि
नराम्रा कुराहरु, कार्यबिधी, विनियमका कुराहरु सच्याएर एउटा मोडालिटिमा जानुपर्छ । हामिले पर्यटन बोर्ड ठप्प हुँदा पनि विभिन्न देशमा कार्यक्रम गर्दै आएका छौ अब पर्यटन सम्बन्धि सबै काम हामी संघ संस्थाले गर्दिने भए पर्यटन बोर्डको अस्तित्व पनि नरहने अबस्था सृजना हुन्छ बिस्तारै । तसर्थ यस्को मोडालिटी परिबर्तन गर्न जरुरी छ ।
नाट्टाले नेपालको पर्यटन विकासमा गरेका र गर्न सक्ने योगदान के रहला ?
-त्यसका लागि हामिले प्रदेशमा रहेका नाट्टाका कार्यसमितिहरुलाई आ-आफ्नो प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर Digital platform मार्फत अगाडी बढाउन भनेका छौ । आफ्नो प्रदेशमा air connectivity र त्यहीँबाट सम्भावना भएका पर्यटकीय स्थलको अध्ययन गरि पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुलाई अगाडी बढाउन लागिपरेका छौ ।
पछिल्लो समय युवाहरु बिदेशीने क्रम बढ्दो छ, यसलाई रोक्न के गर्नुपर्ला ?
-सर्वप्रथम त अभिभावकमा देश प्रति सकारात्मक सोच हुनुपर्छ, नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास आफ्ना छोराछोरीमा छर्न सक्नुपर्छ । आफ्नो देशमा सबै कुराहरु नकारात्मक मात्र देख्ने जुन खालको निराशा छ यसबाट मुक्त हुनुपर्छ । हाम्रो संस्थाको तर्फबाट जस्तै हामीले ILO सङ्ग समन्वय गरेर travel and ticket सम्बन्धि १ महिने Job based training संचालन गरेका थियौँ , जसमा ३० जना युवाहरुले सहभागी भएका थिए र अहिले उहाँहरु सबै काम गरिराख्नु भएको छ । यस्ता रोजगार सम्बन्धि थुप्रै कामहरू,तालीमहरु हामीले गरिराखेका छौं ।
अन्त्यमा मैले सोध्न छुटेका हजुरले बताउनै चाहेको केही विषयवस्तु छन ?
जतिपनि हामी पर्यटन ब्यबसायसँग सम्बद्ध संघ संस्था छौँ यस सम्बन्धि हामी अरुभन्दा केही अनुभवी पक्कै छौँ । हामिले अनुभवका आधारमा यो समयमा यो गर्दा हुन्छ भन्छौं ऐनले छेकिदिन्छ । यसरी केही नितिगत ऐन,विनियमावली संसोधन गरेर ब्यबसायीलाई काम गर्न सहजता प्रदान गरि दिनु पर्छ ।