सरकारले पहाडी क्षेत्रको गुरुयोजना नबनाईकन त्यहाँको हवाई यातायात निरन्तर चल्न कठिन छ: मनोज कार्की-अध्यक्ष, वायुसेवा सञ्चालक संघ नेपाल

अन्तर्वार्ता अर्थ पर्यटन राजनीति

मनोज कार्की-अध्यक्ष,वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन)
President-Airlines Operators Association of Nepal (AOAN)सँग गरिएको कुराकानी ।

वायुसेवा सञ्चालन संघको स्थापना कहिले र कसरी भयो ?
-१९९५/९६ भन्दा अगाडि प्राइभेट कम्पनीहरूले जहाज सञ्चालन गर्ने कानुन थिएन । त्यतिबेला जब सरकारले ओपन स्काइ पोलिसी ल्याएपछि प्राइभेट कम्पनीहरूले पनि जहाज सञ्चालन गर्ने प्रावधान ऐनमा गरिदियो । त्यसपछि प्राइभेट कम्पनीहरूले पनि जहाज ल्याउने प्रक्रिया सुरु भयो । र उहाँहरूको हक हितको, सुरक्षाको निम्ति वायुसेवा सञ्चालक संघ नेपाल गठन भयो ।

हजुरले यस संस्थाको जिम्मेवारी कहिलेदेखि पाउनुभयो र यसको कार्य अबधि कति रहन्छ ?
-मैले जिम्मेवारी लिएको साढे एक महिनाजति भयो । यसको कार्यकाल दुई आर्थिक वर्ष रहन्छ ।

यसअघि पनि हजुरले यस सञ्चालक संघको महासचिवको जिम्मेवारी पूरा गरिसक्नु भयो,तत्कालीन अवस्थामा के के कामहरू गर्नुभयो ?
-मैले दुई कार्यकाल महासचिवको पदमा रही काम गर्ने अवसर पाए । हवाई क्षेत्रलाई टेवा पुग्ने थुप्रै कामहरू त्यतिबेला भएका छन् । जस्तो हरेक वर्ष हामीले सेफ्टी वीक कार्यक्रम सुरु गर्यौ जस अनुसार हरेक वर्ष विदेशबाट विज्ञहरू ल्याएर हवाई यातायात कसरी सुरक्षित भरपर्दो बनाउने के के कुरामा ध्यान दिनुपर्छ लगाएत हवाई यातायात सम्बन्धि प्रत्येक पाटाहरुका विषयमा हरेक वर्ष ७ देखि ९ दिनसम्म कार्यक्रम गर्छौं ।

भर्खर यस समितिको अध्यक्षको जिम्मेवारी लिनुभएको छ,अबका नयाँ कार्ययोजनाहरू के के तय गर्नुभएको छ त?
-अबको पहिलो योजना के छ भने हवाई यातायात सम्बन्धी केही प्रावधान, अवधारणाहरू सरकारी निकायबाट आएपछि मात्र प्रतिक्रिया दिने जुन परिपाटी छ यसलाई परिबर्तन गर्नुछ । अब उहाँहरुले ल्याउने प्रावधान भन्दा पहिले नै बसेर छलफल गरेर यसो गर्दा ठिक हुन्छ भन्ने प्रोएक्टिभ काम गर्ने योजना छ । सरोकारवाला निकायसँग एकदम नजिकको समन्वय गरेर हवाई उद्योगलाई बढी सुरक्षित सेवामूलक कसरी बनाउन सक्छौँ भन्ने कुरामा हाम्रो ध्यान हुन्छ कार्यसमितिको ध्येय पनि त्यही नै हो ।

यहाँका आफ्ना चाहिँ निजी हवाई सेवा कुन कुन छन् ?
-एउटा SUMMIT AIR फिक्स वेन्ट जहाज हो, सानो खालको जहाज जुन पहाडी क्षेत्रमा जान्छ त्यसमा संलग्न छु । अर्को फिस्टेल एयर त्यो चाहिँ हेलिकप्टर सर्भिसिङ हो । यी दुईवटा एयरमा आबद्ध छु ।

ट्राभलको लागि नेपालका आकाशहरू कति सुरक्षित छन् ?
-यो कुरामा कुनै द्विधा छैन नेपालका आकाशहरू १००% सुरक्षित छन् । एक ठाउँबाट अर्को ठाउँसम्मको यात्रा सुरक्षित भयो भनेर छोड्ने होइन । प्रत्येक दिन जे काम छ त्यसलाई अझै सुरक्षित तरिकाले गरिरहनुपर्छ भन्ने कुरा हो । यस क्षेत्रमा इन्फ्रास्ट्रक्चर,मानव संसाधन, इकुपमेन्ट जतिपनी सरकारी निकाय र हामीले लगानी गरिरहेका छौं जुन लगानीको कारणले गर्दा आकाश धेरै सुरक्षित छ ।

नेपालमा हवाई दुर्घटना हुनुका मुख्य कारण के हो ?
-नेपालमा जतिपनि दुर्घटना भएका छन् प्राय VFR (अँखाले देख्दा सम्म उडाउने नत्र फेर्किने वा नजिकैको बिन्दुमा ल्यान्ड गर्नुपर्ने) नियमको पालना नगर्दा भएका छन् । चालकको रिस्क,कतिपय यात्रुको दबाबले पनि कतिपय अबस्थामा यो नियम उलंघन भएको पाईन्छ । जस्तो १ घन्टाको फ्लाइटमा १० मिनेट मात्र बाकि छ अगाडी बादलले देखिएन भने त्यहीँनेर ५० मिनेट ब्याक हुँदा त कम्पनीलाई नि लाखौं घाटा र यात्रुलाई नि समस्या हुन्छ त्यसकारण त्यहीँ VFR नियम पालना नगर्दा धेरैजसो दुर्घटना हुन पुगेका छन् ।

बेलाबेलामा नेपालमा हवाई दुर्घटना भइरहनुमा यसका कारण पहिचान गरि कम गर्ने उपायहरू के होलान् ?
-एउटा दुर्घटना अर्को दुर्घटनासँग मिल्दो हुँदैन । हरेक दुर्घटनाका आफ्नै कारण हुन्छन् । हरेक दुर्घटनापछि एउटा छानबिन समिति बन्छ । अहिले के छ भने कुनै एउटा दुर्घटना भयो भने त्यो विशेषताहरूलाई मात्रै मान्छे खोजेर समिति बनाउने चलन छ । त्यस्ता समिति निश्चित कार्य अवधिमा मात्र एक्टिभ हुन्छन्,त्यहाँबाट तिनी समितिहरू बिदा हुन्छन् । अहिलेको छानबिन समितिले दिएका सुझावहरू त्यससँग सम्बन्धित व्यक्तिहरुभित्र पनि सम्बन्धित विषयवस्तु मात्रै डिस्पोज हुन्छ । अन्य ब्यक्ति र पब्लिकलाई देखाउन मिल्दैन । हाम्रो माग के हो भने जाँचबुझ गर्ने फिक्स खालको आयोग बनोस् । जुन अन्तर्राष्ट्रिय समुदायमा छ । सधैँ एक्टिभ हुने आयोग बनोस्, जसले दिएका सुझावहरू कत्तिको परिपालना भए भएनन् भन्ने कुरा पनि छानबिन गरोस् । आएका सुझावहरू पब्लिकलाई पनि देखाउन मिलोस् समग्र हवाई उद्योगलाई सेयर गर्न मिलोस् ।
कर्णालीका कतिपय जिल्लाहरूमा हवाई मार्गको विकल्प छैन । सानोतिनो काम पर्दा पनि महँगो शुल्क तिरेर प्लेन नै चढ्नु पर्छ ।

यस्ता क्षेत्रहरूका लागि शुल्क कम गर्ने अथवा सहुलियतका उपाय छन की ?
-प्राइभेट कम्पनीलाई लगानी गर अनि सहुलियत दे भन्ने कुरो अलिकति नमिल्दो कुरो हो । यो काम सरकारले गर्ने कुरो हो । अहिलेको टिकट दर आफैंमा कम हो । त्यो पनि तिर्न नसक्ने व्यक्ति पनि होलान् तर यहाँ प्राइभेट कम्पनीले सोचेर यो विषय पार लाग्ने अवस्था छैन ।

राज्यले के कस्ता निति नियम अवलम्बन गर्दिए यहाँहरूलाई काम गर्न सहजता हुन्थ्यो ?
-पहिलो कुरा हाम्रो लगानी सुरक्षित हुनुपर्यो । प्रतिफल आउँछ आउदैन त्यो पछिको कुरा हो । यसो भयो भने लगानीकर्ताले पनि लगानी गर्छ । हवाई भाडा समय सापेक्ष रुपमा पुनरावलोकन हुनुपर्छ । लागत बढ्दै जाने लागत त्यो अनुसार उठाउन पाइएन भने दीर्घकालीन टिकाउन सकिँदैन । हामी अत्यावश्यक सेवा अन्तर्गत पर्छौं । हाम्रा काम कारबाहीका प्रक्रियाहरु लामा र झन्झटिला छन् । यी कुराहरूलाई सहज रुपमा हुने छोटो वातावरण नभए पनि छिटो निर्णय गर्ने प्रक्रिया भयो भने सहज हुन्थ्यो ।

नेपालका विमानस्थलहरू चित्त बुझ्दा छन् त ?
-तराईमा पूर्वधारहरूमा धेरै नै लगानी हुन थालेको छ र पहाडतिरका धेरै अगाडि गाडी नजाने अवस्थामा साना जहाज ल्यान्ड गर्न बनाइएका एयरपोर्ट छन् । पहाडमा जमिनको अभाव, खोज आदिले गर्दा पनि त्योभन्दा बढी बनाउने अवस्था छैन । पहाडी क्षेत्रको समस्या के छ भने त्यहाँ लगानी गर्यो जहाज नचल्ने भयो भने लगानी खेर जाने अवस्था छ । यसकारण पहाडी क्षेत्रको हकमा सरकारले सोचेर एउटा गुरुयोजना नबनाईकन यही अवस्थामा कठिन छ, पहाडी क्षेत्रको हवाई यातायात निरन्तर चलिरहला जस्तो लाग्दैन !