श्रावण २९, २०७९/न्युयोर्क-
अमेरिकाको न्यूयोर्क सहरमा शुक्रवार धारिलो हतियार प्रहार भएपछि गम्भीर घाइते भएका चर्चित लेखक सलमान रुश्दीको स्वास्थ्यमा सुधार आएको छ।
उनका प्रतिनिधिका अनुसार रुश्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ अनि उनी फेरि बोल्न सक्ने अवस्थामा फर्किएका छन्।
न्यूयोर्कमा एउटा कार्यक्रममा सहभागी भएका ७५ रुश्दीमाथि चक्कु प्रहार गरिएको थियो। उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो।।
उनका प्रतिनिधि एन्ड्रू वाइलीले अमेरिकी सञ्चारमाध्यमसँग रुश्दीको स्वास्थ्यस्थितिमा सुधार आइको पुष्टि गरेका छन्। यसअघि उनले लेखक रुश्दीले एउटा आँखा गुमाउन सक्ने बताएका थिए।
उनको उपन्यास ‘द सट्यानिक भर्सिज’ प्रकाशित भएपछि कट्टरपन्थी इस्लामिक समूहहरूले रुश्दीलाई ज्यान मार्ने धम्की दिएका थिए। कतिपय इस्लाम धर्मावलम्बीहरू उक्त पुस्तकले आफ्नो धर्मको अपमान गरेको मान्छन्।
को हुन् आक्रमणकारी?
सलमान रुश्दीमाथि शुक्रवार छुरा प्रहार गर्ने व्यक्तिको नाम हादी मतर भएको बताइएको छ। उनीविरुद्ध हत्याको प्रयास गरेको अभियोग लगाइएको छ।
उनी न्यूयोर्क राज्यनजिकै रहेको न्यूजर्जी राज्यको फेअरभ्यूमा बसोबास गर्दै आएका थिए।
चौबीस वर्षीय मतरले आफू दोषी नरहेको दाबी गरेका छन्।
यद्यपि उनलाई धरौटीमा छुट्न नमिल्नेगरी हिरासतमा राखिएको न्यूयोर्क राज्यको शोटोक्वा काउन्टीका अभियोजकले बताएका छन्।
मतरमाथि एउटा स्थानीय शैक्षिक केन्द्रले सञ्चालन गरिरहेको कार्यक्रमको समयमा मञ्चमा चढेर रुस्दी र एक जना अन्तर्वार्ताकारमाथि आक्रमण गरेको आरोप लागेको छ।
प्रहरीले मतरलाई फेअरभ्यूस्थित अपार्टमेन्टबाट पक्राउ गरेको थियो। शोटोक्वाको उक्त केन्द्रमा आक्रमण भएको केही बेरपछि नै उनी पक्राउ परेका थिए।
शनिवार अपराह्न अदालतमा पेस गरिँदा ती अभियुक्तले अनुहार ढाक्ने मास्क र जेलमा बन्दीले लगाउने पोसाक लगाएका थिए। त्यसपछि उनले आफू दोषी नरहेको अदालतलाई बताए।
“यो लामो समय चल्ने कानुनी प्रक्रियाको प्रारम्भिक चरण हो,” जिल्लाका न्यायाधिवक्ता जेशन स्मिटले एउटा विज्ञप्तिमा भनेका छन् ।
कसरी भएको थियो आक्रमण?
अधिकारीहरूका अनुसार रुश्दीलाई कम्तीमा १० पटक धारिलो हतियार गरिएको थियो। उनको अनुहार, गर्धन र पेटमा चोट लागेको थियो।
आक्रमणपछि रुश्दीको एउटा पाखुराको नसा चुँडिएको, कलेजोमा क्षति पुगेको र सम्भवतः रुस्दीले एउटा आँखा गुमाउन सक्ने वाइलीले बताएका थिए।
लेखक रुश्दीको पछिल्लो अवस्थाबारे औपचारिक विवरण नदिइएको भए पनि कैयौँ सहकर्मी लेखक र अध्येताहरूले उनी अब बोल्न सक्ने भएकोमा सन्तोष व्यक्त गरेका छन्।
आक्रमण भएको ठाउँ शोटोक्वा इन्स्टिट्यूशनका अध्यक्षले रुश्दीको स्वास्थ्यस्थितिबारेका ताजा विवरणलाई ट्वीट गरेका छन्।
उक्त समारोहमा रुश्दीको अन्तर्वार्ता लिन लागेका हेनरी रीजलाई टाउकोमा सामान्य चोट लागेको छ। उनी निर्वासित भएका वा आफ्नो देशमा जोखिममा रहेका लेखकहरूलाई संरक्षण गर्ने एउटा गैरनाफामूलक संस्थाका सहसंस्थापक हुन्।
आक्रमण हुनुअघि रुश्दीले अमेरिकाले कसरी त्यस्ता लेखकहरूलाई संरक्षण दिइरहेको छ भन्ने विषयमा बोल्न लागेका थिए।
कसले जारी गर्यो फतवा?
सन् १९८८ मा द सट्यानिक भर्सेज प्रकाशित भएपछि सलमान रुश्दी झन्डै १० वर्ष भूमिगत हुन बाध्य भएका थिए।
धेरै मुसलमानहरूले उक्त उपन्यासप्रति आक्रोश व्यक्त गरेका थिए। उनीहरूले त्यसमा आफ्नो आस्थामा गम्भीर चोट पुर्याउनेगरी पैगम्बर मोहम्मदलाई प्रस्तुत गरिएको तर्क गरेका थिए।
तत्कालीन इरानी नेता आयोतुल्लाह खोमेनीले रुश्दीलाई ज्यान मार्ने धम्की दिएका थिए। रुस्दीविरुद्ध जारी गरिएको फतवामा उनको टाउको ल्याउनेलाई ३० लाख डलर पुरस्कार दिने घोषणा गरिएको थियो।
अहिले पनि उक्त फतवा हटिसकेको छैन।
इरान सरकार खोमेनीको आदेशबाट अलग्गिएको छ। तथापि इरानको एउटा अर्धधार्मिक सङ्गठनले सन् २०१२ पाँच लाख इनाम थप गर्ने घोषणा गरेको थियो।
को हुन् सलमान रुश्दी?
भारत स्वतन्त्र हुनुभन्दा दुई महिनाअघि सलमान रुश्दीको जन्म सन् १९४७ मा बम्बईमा भएको थियो।
चौध वर्षको उमेरमा अध्ययनका लागि इङ्ग्ल्यान्ड गए। पछि उनले केम्ब्रिजको किङ्स कलेजमा इतिहास विषय पढे।
उनले ब्रिटिश नागरिकता लिए। पछि उनले इस्लाम धर्म अनुसरण गरेनन्।
साहित्यमा गरेकोमा सेवाका लागि उनलाई ‘नाइट’ उपाधि दिइएको थियो।
अहिले उनीप्रति व्यापक समर्थन व्यक्त भइरहेको छ। यो आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भन्दै निन्दा गरिएको छ।