शाख ११ सोमबार,२०८०/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व भएको बताए छन। नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताउनुभएको हो।
सो अवसरमा प्रधानमन्त्रीले भने,’हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ। पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ।’
उनले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको उल्लेख गर्दै अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिवद्ध बनाउन संचार क्षेत्रको सधै रचनात्मक आलोचना आवश्यक रहेको बताए।
प्रधानमन्त्रीले सञ्चार माध्यम आम नागरिक र सरकारका समेत आँखा र कान भएको बताउनुहुँदै यसले गरिहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्ने जिकिर गरे। राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको उनको भनाइ थियो।
प्रधानमन्त्रीद्वारा व्यक्त मन्तव्यकाे पूर्णपाठः-
अध्यक्षज्यू,
विशिष्ट अतिथिज्यूहरू,
अतिथि ज्यूहरु
उपस्थित आदरणीय महानुभावहरू ।
नेपाल रिपब्लिक मिडियाको इतिहाससँग मुलुकको राजनीतिक परिवर्तन समेत जोडिएको छ। देश राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकै कारण यसले आफ्नो नाममै ‘रिपब्लिक’जोडेको छ।
यस मिडियाबाट प्रकाशित नागरिक दैनिक, रिपब्लिका डेलीलगायतका प्रकाशन अग्रणी रहेका छन्। मुलुकको एउटा भरपर्दो सञ्चार संस्थाले आज आफ्नो १५ औं वर्ष प्रवेशलाई उत्सवको रुपमा मनाउँदा मलाई खुसी लागेको छ।
रिपब्लिक मिडियाले वर्षेनी आफ्नो वार्षिकोत्सवको अवसर पारेर समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्ति व्यक्तिलाई खोजेर ‘नागरिक सम्मान’ को जुन परम्परा बसाएको छ, यसले समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका खेलिरहेका व्यक्तिहरूलाई प्रोत्साहन मिलेको छ ।
आम नागरिकलाई थप अधिकार सम्पन्न गरेको २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनले हामीलाई अधिकार मात्र होइन कर्तव्य पनि दिएको छ । त्यसैले कर्तव्य पालनाका निम्ति पनि यस प्रकारको कार्यक्रमले हामी सबैलाई झक्झक्याएको महसुस भएको छ ।
खासगरी २०५२ सालमा सुरु भएको माओवादी जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, त्यस अघि र पछिका सबैजसो आन्दोलनमा पत्रकारिता क्षेत्रले पु¥याएको योगदानकै कारण परिवर्तन सम्भव भयो र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सक्यो भन्न मलाई कत्ति पनि अप्ठ्यारो लाग्दैन । यो कुरा मैले भूमिगत जीवनबाट सार्वजनिक हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा समेत व्यक्त गरेको थिएँ ।
मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व हो । नेपालमा पत्रकारिता क्षेत्रले परिवर्तनलाई आत्मसात गरेको छ । हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ । पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।
लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शाषन प्रणाली हो । यहाँ जनताको आवाज सुनिन्छ । त्यो पारदर्शिता र जनताप्रतिको जवाफदेहीताका कारण यसका गल्ती पनि खुल्छन् । ती गल्ती र कमि कमजोरीप्रति निर्मम बन्दै कमि कमजोरी सुधारेर अघि बढ्नु हाम्रो दायित्व हो । यसको अर्थ केही साना तिना कमजोरी रहे भन्दैमा यो व्यवस्था काम नलाग्ने भयो भन्ने होइन । यसलाई अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिवद्ध बनाउन संचार क्षेत्रको सधै रचनात्मक आलोचना आवश्यक हुन्छ ।
म अलिकति सञ्चार माध्यमको भूमिकाका बारेमा चर्चा गर्न चाहन्छु । सञ्चार क्षेत्रले राज्यका सबै निकाय खासगरी सरकारका काममा निरन्तर ध्यान दिइरहेको हुन्छ । यसरी चनाखो बस्ने सञ्चार माध्यम नै यथार्थमा राष्ट्रका सहयोगी हुन् । यस्ता सञ्चार माध्यम आम नागरिक र सरकारका समेत आँखा र कान हुन् । हामीले गरिहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्छ । राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको छ ।
वर्तमान सरकारले सञ्चार क्षेत्रको विगतको भूमिकालाई ध्यानमा राखेर मात्र होइन आजको दिनमा पनि आम नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको समेत उच्च कदर गरेको छ । सरकार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि प्रतिवद्ध छ । प्रेस स्वतन्त्रतामा अंकुश लगाउने गरी कुनै पनि कानून बनाउने पक्षमा छैन । पत्रकारिता क्षेत्रको योगदानका आधारमा पनि यसको आलोचनात्मक पक्षलाई सशक्त तुल्याउन सरकारले गर्नुपर्ने सबै कानुनी र अन्य आवश्यक व्यवस्थाको तयारी गरिरहेको छ ।
सरोकार पक्षकै सहभागितामा कानूनको मस्यौदा बनाउन मैले निर्देशन दिएको छु । यसअघि नै संसदमा पुगेका सञ्चारसम्बन्धी केही विधेयकलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सरकार प्रतिवद्ध छ । यसैगरी सरोकार पक्षको सहभागितामा आम सञ्चार विद्येयक, मिडिया काउन्सिल बिद्येयक सहितका कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ । ती विद्येयकलाई मुलुकको पत्रकारिता क्षेत्रलाई थप बलियो बनाउने, पत्रकारिताको संस्थागत विकास गर्ने, प्रेस स्वतन्त्रता र पत्रकारको हितलाई ध्यान दिने गरी अघि बढाइने छ ।
सरकारले मस्यौदा गरेका हरेक कानूनलाई वेभ साइटमा राखेर सार्वजनिकरुपमा सुझावका लागि आब्हान गर्ने र प्राप्त सुझावलाई समेटेर संसदमा विद्येयक दर्ता गर्ने वातावरण मिलाइदैंछ । यसमा यहाँहरुको पनि साथ र सहयोग मिल्ने मैले अपेक्षा गरेको छु ।
सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने नीति लिएको छ । पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित संचार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढंगले पहल भइरहेको छ । सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत् सबै मिडियाले पाउने गरी समानुपातिक ढंगले वितरण गर्ने व्यवस्था मिलाइदैछ । जेष्ठ पत्रकार, अपाङ्ता भएका पत्रकारहरुका लागि जिवन निर्वाह भत्ताको व्यवस्था मिलाइदैछ । मिडिया उद्योग रोयल्टी र कर जस्ता दोहोरो कर प्रणालीले समस्यामा परिरहेको विषय मेरो जानकारीमा आएको छ । रोयल्टी र कर बुझाएमा जरिवाना छुटको व्यवस्थाका लागि प्रक्रिया अघि बढेको छ । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखेर एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पनि पहल गरिँदै छ ।
यो सरकारबाट सञ्चार क्षेत्रलाई कुनै किसिमले अप्ठ्यारो पार्ने काम हुँदैन । सञ्चार माध्यम जति स्वतन्त्र र खुला भए त्यति नै तिनले मुलुकलाई मार्गदर्शन गर्न सक्छन् भन्ने मेरो मान्यता हो ।
भूकम्प, कोभिड– १९ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक कारणले समग्र मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । त्यसको प्रभाव सञ्चार जगतलाई पनि पर्ने नै भयो । सरकारले अर्थतन्त्रलाई लयमा फर्काउन प्रयास गरिरहेको छ । म प्रधानमन्त्री भइसकेपछि देश र जनताको अवस्थामा महत्वपूर्ण सुधार ल्याउन केही सकारात्मक पहलहरु भइरहेका छन् ।
मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै अर्थतन्त्र सुधारसम्बन्धी केही नीतिगत निर्णय गरेको थिएँ । त्यसको प्रभाव हाम्रो अर्थतन्त्रमा क्रमशः पर्दै गएको र अर्थतन्त्रमा सुधार आउन थालेको देखिन्छ ।
नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित छ । सरकारको प्रयासबाट सामाजिक–आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएका छन् । शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ । विद्यार्थीको पढाई सकेर जाँच दिने बेलासम्म पाठ्यपुस्तक नपाउने अवस्था अन्त्य भएको छ । समयमै सबै ठाउँ पुस्तकहरु पुगेका छन् । स्वास्थ्य सुविधाहरुमा जनताको पहुँचमा वृद्धि भएको छ ।
यसैगरी विद्युत् विकासमा हाम्रो प्रगति उत्साहजनक छ । सडक घनत्वमा सुधार भइरहेको छ र असमानता घटाउनेतर्फ उल्लेख्य काम भएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ, विप्रेषणमा सुधार आएको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, अर्थतन्त्र विघटनको दिशातिर जान्छ कि भन्नेखाले आशंका निवारण भएको छ । समग्रमा हेर्दा हामी संकटबाट सुधारको बाटो हिँड्दैछौँ भन्ने प्रष्ट चित्र देखिएको छ । यो हाम्रा लागि खुसीको कुरा हो ।
संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय र सुशासनको लक्ष्यमा दृढतापूर्वक लागिरहेको वर्तमान सरकार विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा छ । मैले दृढताका साथ संकल्प गरेको छु– यसपटक नराम्रो काम गर्दिनँ, गर्न पनि दिन्नँ ।
जनताका पीडा, समस्या र अपेक्षाबारे म जानकार मात्र होइन, सचेत पनि छु । यहाँहरु जस्ता प्रतिष्ठित सञ्चारमाध्यमहरू समस्याको उजागर गर्ने, त्यसको विश्लेषण गर्ने र आलोचनात्मक रूपमा सम्प्रेषण गर्ने जिम्मेवारीमा त हुनुहुन्छ नै, साथसाथै सरकारले गरेका सकारात्मक प्रयास र प्राप्त उपलब्धिलाई जनसमुदायमा सम्प्रेषण गरेर ‘देशमा केही हुन्छ, हामीले गरे सकिन्छ, देश निर्माणको जिम्मेवारी हामी सबैको साझा हो’ भन्ने विचार र भावनासमेत सम्प्रेषण गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।
अन्त्यमा, नेपाल रिपब्लिक मिडिया, यसका सञ्चालक, सहकर्मी र पत्रकारहरूलाई वार्षिकोत्सवका उपलक्ष्यमा हार्दिक बधाइ दिन चाहन्छु । कार्यक्रममा सम्मानित र पुरस्कृत नागरिक नायक र संस्थाका उत्कृष्ट सहकर्मीहरूलाई समेत वधाइ ।
धन्यवाद ।
११ बैशाख २०८०, साझ ५ः३०
नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन