श्रीलंकाको अवस्था नेपालमा चर्चा गरिएजस्तो चैं हो भन्ने लाग्दैन: राजदूत वासुदेव मिश्र

अर्थ पर्यटन राजनीति विश्व समाचार


चैत्र १६ बिहीवार,२०७९-
नेपालमा अर्थतन्त्रको नकारात्मक चित्र देखाउन परे देश श्रीलंका हुँदैछ भन्ने गरिन्छ । आममान्छेले मात्र होइन, अर्थशास्त्रका धुरन्धर विज्ञले समेत मुलुकको बिग्रँदो आर्थिक सूचांकलाई श्रीलंकासँग तुलना गर्ने गरेका छन् । जसका कारण आर्थिक संकट र श्रीलंका एक-अर्काका पर्यायवाची जस्तै बनेको छ ।

एकातिर श्रीलंकाबारे यस्तो भाष्य बनिरहेको छ भने अर्कोतिर भौगोलिक हिसाबले नजिकै रहेका दक्षिण एशियाका यी दुई मुलुकबीचको आर्थिक, सांस्कृतिक सम्बन्ध औपचारिकतामा सीमित रहँदै आएको छ । छिमेकी मुलुक श्रीलंका नेपालका लागि कूटनीतिक महत्वका दृष्टिले त्यतिधेरै प्राथमिकतामा परेको देखिंदैन । जुन तहमा जनस्तरमा सम्बन्ध विकास हुनुपर्ने हो, त्यो पनि हुन सकेको छैन ।

सन् १९६५ मै नेपालले श्रीलंकासँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो। यसैगरी १९९५ मा आवासीय दूतावास खुलेको हो। कूटनीतिक सम्बन्ध स्थापित भएको यति लामो अवधी भई सक्दा पनि द्दिपक्षीय सम्बन्ध किन कूटनीतिक तहमा मात्रै सीमित छ ? दुई देशका जनता-जनताबीच किन अपेक्षाकृत सम्बन्ध बलियो हुन् सकेको छैन ? यसबारे बुझ्न द्दिपक्षीय सम्बन्धका बहुआयामिक विषयमा छलफल आवश्यक छ ।

श्रीलंकाको अर्थ-राजनीति, सामाजिक,सांस्कृतिक स्थिति, नेपालमा हुने गरेको चर्चालगायत दुई देशबीचको सम्बन्धका बिबिध पाटापक्षका विषयमा श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रसँग हामीले कुराकानी गरेका छौँ । राजदूत मिश्र श्रीलंका संकटग्रस्त रहेको भनिएका बेला कार्यभार सम्हाल्न कोलम्बो पुग्नुभएको थियो । द्धिपक्षीय सम्बन्ध विस्तार र सोझो हवाई सम्पर्कलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेर कूटनीतिक पहल गरिरहनु भएका राजदूत मिश्रसँग गरिएको कुराकानी :

नेपालमा बिग्रेँदो अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्ने गरिएको छ, वास्तवमा के श्रीलंकाको आर्थिक स्थिति एकदमै नाजुक अवस्थामा पुगेको हो ?
-वास्तवमा, श्रीलंका दक्षिण एसियामै सबैभन्दा राम्रो अर्थतन्त्र भएको देश थियो । तर, अहिले अलिकति खस्किएको छ । यद्यपि, नेपालमा चर्चा गरिएजस्तो चैं हो भन्ने लाग्दैन । अर्कोतिर नेपाल र श्रीलंकाको अर्थतन्त्रका अवयव नै फरक छ । त्यसकारण नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नै मिल्दैन । न श्रीलंका नेपालको तहमा पुग्छ न नेपाल श्रीलंका जस्तो हुन्छ।

त्यसोभए नेपालको अर्थतन्त्रलाई किन श्रीलंकासँग तुलना गरिएको होला ?
-सायद हाम्रो अध्ययनको कमि हुनसक्छ। जीडीपीको तुलनामा National debt बढी हुँदा श्रीलंकामा आर्थिक अवस्था नकारात्मक भएको पक्कै पनि हो । तर, यहाँको राजनीतिक परिस्थिति उतारचढावपूर्ण भए पनि राज्यका अन्य संस्थाहरु बलिया छन्, जुन हामीकहाँ ठ्याक्कै उल्टो छ भनिन्छ । त्यसैले यहाँको अर्थतन्त्र खस्किए पनि छिट्टै रिकभर हुने सम्भावना देखिन्छ। यस्तो स्थिति नेपालमा आयो भने दीर्घकालिन असर पर्छ। हामीकहाँ संस्थाहरुले काम नगरेको देखिन्छ। यहाँको मन्दी चैं अल्पकालीन हो।

श्रीलंकाको राजनीतिक अवस्था अहिले कस्तो छ त ?
-पहिला political turmoil भएको हो, तर अहिले पुरानै अवस्थामा फर्किसकेको छ। पूर्वराष्ट्रपति गोटावाया फर्केर आइसकेपछि वर्तमान राष्ट्रपतिले भेट गरिसक्नु भएको छ। वर्तमान र पूर्वराष्ट्रपति सँगै भएको कार्यक्रममा म आफैँ पनि उपस्थित भएको छु। जसका विरुद्ध बिद्रोह भएको हो, उनीहरु मिल्ने तहमा स्थापित भैसकेपछि मनमुटाव अन्त्य भैसकेको अर्थ निकाल्न सकिन्छ। अर्कोतिर यहाँको राजनीति हाम्रो भन्दा फरक छ। यहाँको राजनीतिमा इलाइट वर्गको वरिपरी घुमेको देखिन्छ । सत्तामा यो आए पनि त्यहि वर्ग आउने हो। सरकारमा पहिलाका र अहिलेका राष्ट्रपतिको पार्टीका मान्छेहरु छन्। अन्य पार्टी पनि सरकारमा छ। अर्थात् भनौँ सरकार सर्वपक्षीय छ। त्यसैले राजनीतिक सेटलडाउन भैसक्यो भन्न सकिन्छ।

नेपाल र श्रीलंका दक्षिण एसियाका छिमेकी देश पनि हुन्, भूगोलको हिसाबले निकटता छ । तर, जनस्तरको सम्बन्ध सोचेजस्तो राम्रो छैन पनि भनिन्छ । त्यस्तै हो ?
-जनस्तरमा सम्बन्ध राम्रो छैन भन्ने होइन, तर जति हुनुपर्ने त्यहि नभएको हुनसक्छ। मेरो अनुभवले के भन्छ भने, गौतम बुद्ध जन्मेको देश भनेर नेपालप्रति श्रीलंकनहरु असाध्यै अनुग्रहित भएको पाउँछु। आपसी सहयोग, व्यापार प्रवर्दन, शैक्षिक आदानप्रदान, कनेक्टिभिटी र पर्यटन प्रवद्र्धनलगायतका विषयलाई दुवै देशले प्राथमिकतामा राखेर काम गर्न सके जनस्तरको सम्बन्ध थप प्रगाढ हुन् सक्छ। त्यसका लागि दुबैतर्फबाट थप कूटनीतिक पहलकदमी आवश्यक देखिन्छ।

श्रीलंका र नेपालको व्यापार र आर्थिक सम्बन्ध कस्तो छ अहिले ?
-नेपाल बुद्ध जन्मिएको देश। श्रीलंका बुद्धिष्टहरुको। यसलाई धार्मिक पर्यटनमा जोड्न सके दुवै देशलाई फाइदा हुन्छ। अहिले पनि नेपाल जाने श्रीलंकन धार्मिक पर्यटकको संख्या ठूलो छ। जसरी मुस्लिम धर्म मान्ने मान्छेले जीवनमा एकचोटी मक्का मदिना जाने प्रण गरेको हुन्छ, त्यस्तै यहाँका बुद्धिष्टहरुले लुम्बिनी जाने अभिलाषा राखेका हुन्छन्। एकदम निर्धन व्यक्तिले पनि त्यस्तो आशा राखेको मैले बुझेको छु। तर, त्यसलाई हामीले आकर्षित गर्न कार्यक्रम बनाउनु जरुरी छ। अहिले पनि नेपाल जाने पर्यटकको पाँचौं ठूलो संख्या श्रीलंकाको छ। त्यो भनेको अत्यन्तै राम्रो हो। यसलाई दोस्रो, पहिलो बनाउन किन सकिएन त्यो हाम्रो पक्षको पनि कमजोरी हुन सक्छ।
ओहोदाको प्रमाणपत्र बुझाएकै दिन महामहिम राष्ट्रपतिले निकै महत्व दिएर आधा घण्टा कुराकानी गर्नुभयो। पहिलो कुराकानीमै उहाँले नेपाल जाने इच्छा व्यक्त गर्नुभएको थियो। राष्ट्रपतिको त त्यो इच्छा छ भने सर्वसाधारणको नहुने कुरा भएन। त्यसैले गर्न सकिने कामहरु थुप्रै छन्, यसमा नेपाल र श्रीलंकाको मात्रै इच्छाले भन्दा पनि भारत सरकारको पनि सहयोग र सदासयता चाहिने देखिन्छ।

दुई देशबीच भारतको सहयोग किन र के का लागि ?
-श्रीलंका टापुको देश हो। यहाँका नागरिक विभिन्न कारणले सहजै भारतीय भूमिमा पुग्छन्। भारत पुगेका श्रीलंकन पर्यटकलाई नेपाल लैजान हामीले कि त सिधा सम्पर्क बढाउनु पर्छ, हैन भने भारतीय पक्ष जोडिन्छ नै। किनभने भारतीय टुर अपरेटरमार्फत उनीहरु घुम्न गएका हुन्छन्। भारतीयहरुले आफ्नो इच्छाअनुसार घुमाउने कुरा अस्वभाविक होइन। उनीहरुले एक दिन लुम्बिनी घुमाएर फेरी भारत नै फर्काउछन्। किनभने बुद्धसँग सम्बन्धित ठाउँ भारतमा पनि छ। त्यसकारण हामीले श्रीलंकन पर्यटकलाई नेपाल राख्न प्याकेज दिन सक्नुपर्छ।

यसमा हाम्रो सरकारले गर्नुपर्ने काम र राजदूतको रुपमा यहाँले खेल्नसक्ने भूमिका के हुनसक्छ ?
-अहिले कोलम्बो-काठमाडौँ सिधा उडान छ। बिबिध कारणले त्यहाँबाट लुम्बिनी जान सहज छैन। त्यसैले श्रीलंकाको राष्ट्रिय ध्वाजावाहकलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्न हामीले पहल गर्नुपर्छ। मेरो तहबाट प्रस्ताव गरिएको पनि छ। त्यसो हुँदा भारत या काठमाडौँ हुँदै लुम्बिनी पुग्नुपर्ने झन्झटबाट पर्यटकहरु मुक्त हुन्छन्। यसले पर्यटकको संख्यामा मात्र वृद्धि हुँदैन, हाम्रो नयाँ विमानस्थललाई पनि फाइदा हुन्छ । अर्कोतिर हामीले पर्यटकलाई एक दिन भने पनि बढी बस्ने कार्यक्रम बनाउन सक्नुपर्छ । सुविधा दिनुपर्छ र खर्च गराउनुपर्छ । गौतम बुद्ध जन्मिएको ठाउँ भनेर मात्रै पर्यटकको संख्या र गुणस्तर बढ्दैन ।

राजदूत बनेर गएपछि तपाईंको कूटनीतिक सक्रियता पनि देखिएको छ, त्यहाँका मन्त्रीहरुसँग लगातार भेटघाट गरिरहनुभएको छ। वास्तवमा श्रीलंका सरकारको नेपालप्रतिको दृष्टिकोण कस्तो पाउनुभयो ?
-एकदमै सकारात्मक छ। मैले यहाँ आएयता राष्ट्रपतिसँग मात्रै पाँच पटक भेटवार्ता गरी सके। परराष्ट्र, पर्यटन, खेलकुद, शिक्षा मन्त्रीहरुलाई पनि भेटेर कुराकानी गरेको छु। यी भेटहरु द्दिपक्षीय सम्बन्ध बिस्तार, कनेक्टीभिटी, व्यापार प्रवर्द्धनजस्ता विषयमा केन्द्रित छन्। मैले राष्ट्रपति, परराष्ट्र मन्त्री र पर्यटन मन्त्रीसँग लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा श्रीलंकाको राष्ट्रिय ध्वाजावाहक उडान भर्न प्रस्ताव गर्दा उहाँहरु एकदमै सकारात्मक हुनुहुन्छ। लुम्बिनीको नाम सुनेरै उहाँहरु उत्साहित बनेको मैले महसुस गरेको छु। श्रीलंकाको माताला अन्तराष्ट्रिय विमानस्थलबाट भैरहवा उडान भर्न सकिने विषयमा उहाँहरुले सकारात्मक धारणा राख्नुभएको छ। तर, केही प्राविधिक कठिनाइले काम अघि बढ्न सकेको छैन। त्यसबारे हाम्रो सरकार जानकार छ।

पर्यटन बाहेक दुई देशबीच व्यापारिक सम्बन्ध बिस्तारका लागि सम्भावना र चुनौती के-के देख्नुहुन्छ ?
-नेपाल र श्रीलंकाबीच शैक्षिक आदानप्रदान एकदमै प्राथमिकताको विषय हुनसक्छ। किनभने श्रीलंका आइटी क्षेत्रमा उन्नति गरेको देश हो। त्यस्तै, मेडिकल साइन्स, एग्रिकल्चर विषय पढ्नेका लागि एशियाली देशमै यहाँ स्तरीय युनिभर्सिटी छ। त्यस्तै, नेपालमा इञ्जिनियरिङ, फरेष्टि विषयको पढाई राम्रो मानिन्छ। त्यसकारण यूरोप, अमेरिका, अष्ट्रेलिया गएर महँगोमा पढ्ने हाम्रा विद्यार्थीलाई यहाँ आकर्षित गर्न सके दुवै मुलुकलाई फाइदा पुग्छ। त्यस्तै, इञ्जिनियरिङ पढ्न चाहने श्रीलंकाका विद्यार्थीलाई हामीले आकर्षित गर्न सक्नुपर्छ।
अर्को भनेको तरकारी तथा फलफूलजन्य बस्तुको ब्यापारमा ठूलो सम्भावना छ। समशितोष्ण क्षेत्रमा उत्पादन हुने नेपालको कृषिजन्य वस्तु श्रीलंकामा उत्पादन हुँदैन। यहाँको उष्ण प्रदेशीय कृषि उपज नेपालमा पाइंदैन। यहाँ आप, कटहर, नरिवलको उत्पादन अत्याधिक छ, जुन नेपालमा धेरै हुँदैन। त्यस्तै, हामीकहाँ उत्पादन हुने स्याउ, अदुवा, अलैंची, चिया र दाल श्रीलंकामा उत्पादन हुँदैन। यिनीहरुको माग अत्यधिक छ त्यहाँ। श्रीलंकाले केन्याबाट ल्याएर आफ्नो ब्राण्ड बनाएर चिया युरोप निर्यात गर्ने गरेको छ। यद्यपि यहाँ पनि चिया बगैंचा भने छन। तर हाम्रो चिया श्रीलंका पठाउन सक्ने हो भने केन्याबाट किन लिन्छ। यस विषयमा मैले यहाँको चिया विकास बोर्डसँग कुराकानी गरेको छु। सकारात्मक प्रतिकृया आएको छ।
अहिले पनि श्रीलंकाबाट इञ्जिनियरिङका सामाग्री, कागज, इलेक्ट्रिक बस्तु, औषधी नेपाल जान्छ। नेपालले हस्तकलाका सामान श्रीलंका निर्यात गर्ने गरेको छ। तर, अन्य देशसँग जस्तै श्रीलंकासँग पनि नेपालको व्यापार घाटा छ। यहाँबाट लगभग ९० करोडको सामान नेपाल जान्छ भने नेपालबाट २० करोड बराबरको निर्यात हुन्छ। हाम्रो व्यापार घाटा अन्त्य गर्न पनि द्दिपक्षीय व्यापार बिस्तारमा पहल आवश्यक देखिन्छ।

आपसी सहयोगका अन्य क्षेत्रहरु के-के हुनसक्छ ?
-थुप्रै छन्। कला, संस्कृति, खेल, शैक्षिक क्षेत्रमा धेरै सम्भावना छ। मैले यहाँका खेलकुद मन्त्रीसँग भेट गर्दा उहाँले नेपालको क्रिकेट विकासका लागि सहयोग गर्न चाहेको बताउनुभएको छ। त्यसका लागि नेपाली खेलाडीहरुलाई श्रीलंकामा प्रतिष्पर्धात्मक खेल खेल्ने वातावरण बनाइदिने, श्रीलंकाको प्रशिक्षक नेपाल पठाइदिने सम्भावनाबारे कुराकानी भएको छ। त्यस्तै, श्रीलंकाले फुटबलमा नेपालको सहयोग चाहेको छ।

फेरी अर्थतन्त्रकै कुरा गरौँ, श्रीलंकाको उत्पादनमुखी हो कि बजारमुखी ?
-दुबै हो । यहाँको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनले ओगटेको छ। त्यस्तै, कृषि उत्पादन पनि अर्थतन्त्रको आधार देखिन्छ । यहाँ आर्थिक मन्दी आउनुमा पनि यी दुई क्षत्रमा परेको नकारात्मक प्रभाव नै मुख्य कारण हो। सन् १९८४ देखि २००९ सम्म लगभग २५ वर्ष भयङ्कर गृहयुद्धपछि तामिल बिद्रोह समाप्त भएर श्रीलंका बिस्तारै पुरानै लयमा फर्किंदै थियो। उत्पादन बढ्दै थियो, २०१९ मा कोभिड आयो। कोभिडपछि पर्यटक आउन छोडे। गत वर्ष गिर्जाघरमा भएको आक्रमणले पनि पर्यटन क्षेत्रमा प्रभाव पर्यो। यहाँ आउने पर्यटक अधिकांश ब्रिटिस र रसियन हो। युद्धमा फसेको रसियाका नागरिक आउन छोडे। अर्कोतिर यहीबेला यहाँको सरकारले पूर्ण अर्गानिक उत्पादनमा जोड दिने भनेर केमिकल फर्टिलाइजर जिरो गर्ने नीति बनायो। त्यसले उत्पादन घट्यो। फलत: अर्थतन्त्र कम्जोर बन्यो। उत्पादन र आम्दानि घटेपछि आर्थिक मन्दीमा जाने भैहाल्यो।

चिनियाँ ऋणले श्रीलंका डुबेको पनि भन्ने गरिएको छ, यसबारे के बुझ्नुभएको छ ?
-त्यस्तो होइन। किनभने श्रीलंकाको चिनियाँ ऋण जम्मा ८ प्रतिशत मात्रै हो। बाँकी ९२ प्रतिशत अरु देशको छ। त्यसैले चिनियाँ ऋणको जालोमा परेको भन्ने कुरा त्यति सत्य हो जस्तो लाग्दैन। बाहिर गरिने यस्ता चर्चा अन्तराष्ट्रिय राजनीतिक दाउपेचको यौटा कडी मात्रै हो जस्तो लाग्छ।
अर्को कुरा मैले अघि भन्दै थिए आर्थिक मन्दीकै बीच श्रीलंका सरकारले लिएको विदेशी ऋणको ब्याज तिर्नुपर्ने बेला भयो। ऋण तिर्न नसकेपछि अनेक शर्तहरु आउने नै भए। हमनटोटा बन्दरगाहा चीनले लिएको विषय पनि आंशिक मात्रै सत्य हो। लामो दूरीका जहाजलाई तेल भर्ने र यहाँको सामान बाहिर लैजाने उद्धेश्यले बन्दरगाहा विकास गर्न श्रीलंका सरकारले चीन सरकारसंग ऋण लिएर बनाएको हो। त्यसमा दुबै देशका कम्पनीको साझेदारी छ। मातला एयरपोर्ट र हमनटोटाबाट कोलम्बोसम्मको लगभग २०० किलोमिटर लामो सुपर हाइवे पनि चिनियाँ ऋणमा बनाइएको हो। तर, सोचेजस्तो चलेन । बन्दरगाहा भर्खर चल्दैछ। तर, ऋणको पैसा त तिर्नेबेला आइहाल्यो। त्यसपछि श्रीलंका सरकार हंगकंगमा रजिष्टर्ड भएको चिनियाँ कम्पनीसँग उक्त ऋण तिर्ने शर्तमा बन्दरगाहा लिजमा दिन तयार भयो हो। तर, श्रीलंकाले चीनलाई ऋण तिर्न सकेन । फलस्वरूप बन्दरगाहा वरपरको 11.5 square k.m उजाड क्षेत्र ९९ वर्षका लागि लिजमा लिने र विकास गर्ने चीनको प्रस्ताव श्रीलंका सरकारले स्वीकार गर्यो। अहिले
सो जग्गा मा सीमेण्ट, डूँगा (hatch) र टायर कारख़ाना स्थापना हुँदैछ। त्यसले रोजगारी सृजना भएको छ। होटलहरु बन्दैछन्। आजको भोलि नै नभए पनि बिस्तारै समस्या समाधान हुँदैछ।

नेपालमा राजदूत पद आकर्षक मानिन्छ। हरेकचोटी राजदूत नियुक्ति हुँदा भारत, चीन, बेलायत, रुस, अष्ट्रेलिया, अमेरिका जस्ता शक्तिशाली देशमा जान त हारालुछ नै हुने गरेको देखिन्छ ? तर तपाईं कम प्राथमिकतामा पर्ने श्रीलंकाको राजदूत हुनुभयो। वास्तवमा यस्तो किन हुन्छ ?
-पदीय जिम्मेवारीका हिसाबले जुन देशको राजदूत भए पनि उही हो। सरकारले तोकेको मर्यादाक्रम सबैको यौटै हो। श्रीलंका सानो हुन्थ्यो भने क्याविनेटस्तरको मन्त्री भैसक्नु भएका निलाम्बर आचार्य, संविधान सभा सदस्य सुशीलचन्द्र अमात्य, अर्थशास्त्रका विद्धवान भनेर चिनिने विश्वम्भर प्याकुरेल किन श्रीलंकाको राजदूत हुनुभएको होला त ? त्यसैले अमेरिका जाने ठूलो, म्यान्मार जाने सानो भन्ने हुँदैन। तपाईंले भनेजस्तो शक्तिशाली भनिने देशमा राजदूत हुन हारालुछ हुने गरेको भए सायद बुझाइमा कमजोरी भएर होला।

राजनीतिक नियुक्तिबाट राजदूत हुनेहरुलाई अलि फरक ढंगले हेर्ने गरेको देखिन्छ, त्यो चैं किन होला ?
-नियुक्ति हुँदा सबैको पदावधि चार वर्षको हुन्छ। तर, राजनीतिक नियुक्ति पाउनेहरुको सन्दर्भमा सरकारको अस्थिरताका कारण उनीहरुको पद पनि अस्थिर रहने गर्छ। त्यसबाहेक अरु फरक चर्चा गर्नुपर्ने म त केही पनि देख्दिन।

राजदूत भएर तपाईंले कार्यभार सम्हालेयता कूटनीतिक भेटघाट र द्दिपक्षीय सम्बन्ध सुधारका क्षेत्रमा गरेका प्रयास बाहेक सम्झनलायक अरु कुनै काम छ ?
-कूटनीतिक भेटघाट बाहेक दूतावासको समग्र नेतृत्व पनि राजदूतकै काँधमा हुन्छ। त्यसकारण प्रशासनिक सुधारका काम पनि मैले प्राथमिकतामा राखेको छु। देश आर्थिक रुपले कम्जोर भएका बेला खर्च कटौती गर्न सकिने सम्भावना खोजी गरेको छु। उदाहरणका लागि विगत लामो समयदेखि यहाँको दूतावास भवन मासिक पाँच हजार भाडा तिरेर संचालित छ। तर, यो भन्दा राम्रो ठाउँमा सस्तो भाडामा अझै ठूलो घर लिन सकिने रहेछ। ११ जुनमा घरको करार सम्झौता सकिँदैछ, त्यसपछि सस्तो ठाउँमा सर्ने तयारी गरेको छु। मासिक ३२ सय ५० डलरमा अहिलेको भन्दा ठूलो र प्राइम लोकेसनमा घर पाइएको छ। तीन महिनापछि दूतावास त्यहाँ सर्दैछ। देख्दा सामान्य लागेपनि सुधारको यो यौटा महत्वपूर्ण काम हो भन्ने लाग्छ।