गम्भीर घाइते सुदूरपश्चिमका मन्त्री सिंह रहेनन, श्रीमती र भाउजुको घटनास्थलमै मृत्यु



असार ५ मंगलबार/धनगढी-

सडक दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।

मंगलबार बेलुका बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत सिंहको निधन भएको हो। मन्त्री सवार जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो। यसअघि मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो। दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा जीप दुर्घटना भएको थियो।

चालक धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत (पिएसओ)को नेपालगन्ज मेडिकल कलेजमा उपचार हुँदै छ।

सिंह गत वर्ष मंसिर ४ गते भएको प्रदेश सभा सदस्य निर्वाचनमा बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट उनी निर्वाचित भएका थिए।

उनको जन्म २०१५ साल माघ १७ गते, बझाङको तत्कालीन लुयाटामा बुबा मानबहादुर सिंह र आमा तारादेवी सिंहका कोखबाट भएको थियो। उनी २०३१ सालमा एसएलसी सकेर नेविसंघमा आवद्ध भएका थिए। २०३५ सालतिर उनी बिएल पढ्ने क्रममा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए।

२०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका थिए। उनले तीन कार्यकाल १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिको जिम्मेवारी सम्हाले।

सिंहले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा असफल भएका थिए भने २०७९ मा जितेर मन्त्री बनेका हुन।

 

प्रकाशित मिति : २०८० असार ५ गते मंगलबार
अरु पनि पढ्नुहोस्