असार १० आइतबार,२०८०/काठमाडौं-
पशुपतिनाथ मन्दिरमा रहेको जलहरीमा ११ केजी सुन घोटाला भएको भन्दै संसदमा आवाज उठेपछि,अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले त्यहाँ पुगेर नापजाँच गरेको छ।
आइतबार दिउँसो अख्तियारको टोली नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीसहित पशुपति पुगेको थियो।
संसदमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा ओली सरकारले घोटाला गरेको भन्दै तत्काल छानबिनको माग गरेका थिए। यो बिषयले २०७८ तिरै सञ्चार मध्यम मार्फत उठेपछि तहल्का मच्चिएको थियो।
करिब २ घन्टा चलेको नापजाँचका क्रममा,दर्शनार्थीहरुलाई रोकेर सुरक्षा घेराभित्र जलहरीको नापजाँच गरिएको थियो।
आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू सहभागी थिए।
यसअघि २०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब १ अर्ब रुपैयाँको लागतमा जलहरी राख्ने घोषणा गर्दै ‘संकल्प पूजा’ गरेका थिए। सो कार्यका लागि उनले सरकारबाट ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए।
यसैबिच पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानुन भएको भन्दै जलहरी जडानको बिरोध पनि भएको थियो। अदालतले पनि सोही विषयमा अन्तरिम आदेश सुनाएको थियो। तर तत्कालीन सरकारले भने त्यसको उल्लंघन गर्दै पशुपतिनाथमा सुनको जलहरी राखेको थियो।
खाशमा जलहरी निर्माणको प्रक्रियाबाट बाहिर राखिएका कोषका पाँच सदस्यले हिसाबकिताब माग्दा पदाधिकारीले नदिएपछि अनियमितताको विषय बाहिरिएको र अख्तियारमा उजुरी परेको थियो।
