नेताकी बहिनी भएकैले पछाडि चाहिँ पारिएको हो: नारायणी शर्मा(६ प्रश्न)

अन्तर्वार्ता राजनीति विचार

असार १२ मंगलबार,२०८०/काठमाडौं-

(माननीय नारायणी शर्मा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा दाङ्बाट संघीय समानुपातिक सांसद हुनु हुन्छ, उहाँसँग ‘६ प्रश्न’ सेगमेन्टका लागि गरिएको छोटो कुराकानी)

१.तपाईको निर्वाचन क्षेत्रका जनताले के अपेक्षा राखेका छन?
-धेरै छन जनताका जायज मागहरु सम्बोधन गर्नु पर्ने। निति निर्माण देखि बिकास निर्माण सम्मको अपेक्षा रहेका छन। ती कुराहरु जनताका प्रत्येक्ष जीवनसँग जोडिएका छन। दाङ्को निर्वाचन क्षेत्र-१ मेरो क्षेत्र हो।
मेरो निर्वाचन क्षेत्रमा नाका पनि पर्दछ, जहाँका जनता सिमा रक्षक बनेर बसेका छ्न। उनीहरुमा राष्ट्रियताको भावना छ तर अर्कै छेउतिरको भुभाग भएकोले आधारभुत सुविधाबाट पनि वन्चित छन। त्यहाँका जनता बिरामी, गर्भवती अवस्था वा सर्पले टोक्यो भने पनि बर्खायाममा बाटो हुँदैन। गडवा-रामपुर ईलाकामा ७६ जति नाकाहरु रहेका छन। सूचना सञ्चारबाट त्यस्तै कटेको छ। शिक्षामा पनि पछाडि परेको छ, ८ कक्षाका विद्यार्थीहरु ८ घन्टा हिंड्न बाध्य छ्न। आफ्नो गाउँबाट गम्दिबेलाको बिद्यालय आउन बाध्री छन। खाने पानीको त्यस्तै समस्या छ। बर्खा याममा खोलाको पानी खान बाध्य छन। अब यी सबै समस्याहरु समाधान गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ। घोराही-तुलसीपुर खण्डमा पर्ने बाटोको निकै अगाडि ठेक्का भए पनि काम खासै न भएकोले त्यो ठेक्का तोडिएको छ। त्यो त्यतिखेरको सन्धर्वमा ठिकै थियो तर अब ६ लेन बनाउने माग छ। फेरि सरकारी प्रक्रियाको आफ्नै बाध्यता पनि छ। त्यसैले हाल ४ लेन अनुसार गए पनि छिट्टै त्यसले ६ लेन बनाउनेनै योजना रहेको छ।

२.संसदको कुन समितिमा यहाँको जिम्मेवारी छ?
-म संघीय संसद्को अर्थ समितिमा छु। यसमा कुल २५ सदस्यहरु छौँ विभिन्न राजनीतिक दलबाट। हाल सम्म पाँच वटा जति बैठक बसेका छौँ। अहिलेको आर्थिक संकट कसरी समाधान गर्ने, अर्थ प्रणाली, कर दर, शेर लगायतका बिषयमा केन्द्रित भएर छलफल गर्छाैं। हालसालै धितोपत्र बोर्डले गरेका निर्णयका बारेमा मैले कुरा उठाएको थिए। सर्वसाधारणका लागि घोराही सिमेन्टमा शेरको दर १०० वा १५० हुनु पर्दछ; जबकी धितोपत्र बोर्डले ४३५ बनाएको छ। हामीले त्यहाँका प्रमुखलाई बोलाएर यस बिषयमा पुनर्बिचार गर्न भनेका छौँ। अहिले रोकेको अवस्था छ। त्यस्तै पर्यावरणीय दृष्टिकोणले पनि प्रदुषणको समस्या रहेको छ। धुवाँ फाल्ने मेशिन राख्ने सहमति भए पनि कार्यान्वयन गरेको छैन। १ किलोमीटर पर सम्मै बाक्लो धुलो जमेको हुन्छ वरिपरि। यो बिषय मैले पटक पटक उठाउदै आएकी छु। अब देखि बस्ने बैठकहरुमा अन्य नयाँ बिषयहरु उठाउने छौँ।

३.यसपालीको बजेटमा चित्त बुझ्दो योजनाहरु पाउनु भएको छ?
-त्यति चित्त बुझ्दो त छैन। तर अहिलेको आर्थिक मन्दीलाई ध्यानमा राख्दा ठिकै छ। तर काठमाडौंले जति प्राथमिकता पाएको छ दुरदराजका बस्तीहरुले पाएका छैनन। खासमा अब हेर्नू पर्ने त्याहा हो। हाम्रोमा जनताको जीवनसँग प्रत्येक्ष जोडिएको राप्ती नदीको बटकापथ नहर, बाटो लगायतले निरन्तरता पाएका छन। केही नयाँ पनि छन।

४.तपाई पुर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को बहिनी भएकोले सांसद पद पाएको भन्ने छ त ?
-म अहिले ४६ बर्ष की भए, १४ बर्ष की हुँदा देखि पार्टीमा आबद्ध छु। म संगैका साथीहरू धेरै पटक सांसद र मन्त्री भए। अहिले आएर पार्टीले महसुस गरेर मलाई अवसर दिएको छ, मैले त्यसरी बुझेकी छु। म २०५४ को पार्टीको जिल्ला कमिटी सदस्य हो। बरु नेताकी बहिनी भएकैले मलाई पछाडि चाहिँ पारिएको हो ! कुन चाहिँ मेरो समयका महिला नेतृहरुसँग तुलना गर्दा म कम हुन्छ, पुष्ठि गर्न तयार छु। मुख्य कुरा मेरो त्याग, तपस्या र लगानीका कारणले मेरो यहाँ सम्मको यात्रा तय भएको, म गर्वकासाथ भन्न चहान्छु।

५.कुन कुन मोर्चामा जिम्मेवारी बहन गर्नु भयो ?
-२०५२ फागुन १ गतेका दिन रोल्पाको होलेरी, रुकुमको आठबीसकोटस्थित राडि, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी हामीले जनयुद्धको थालनी गरेको थियौं। म जन्मेको जिल्ला रुकुम हो। २०५२ मा राडि चौकी आक्रमण गर्न जादा ३७ जना मध्य ३ जना महिला थियौँ; कमला रोका, लाल कुमारी झाक्री र म। २०५४ मा भाईचारा संगठनबाट हामीलाई नेपालमा सैन्य तालिम दिन आउँदा, त्यतिबेला म एक जना मात्र महिला सदस्य थिए। सल्यानका केही भुभाग त्यतिखेर रुकुममा राखिएको थियो र बाफुखोलामा त्यो तालिम भएको थियो। त्यतिखेर पार्टीले सेना र संगठन छुट्टाएको थिएन। सेनानै संगठन थियो र संगठननै सेना। लगत्तै फागुन १५ गते रुकुमको पीपलमा छ जना खत्री बन्धुहरूको प्रहरीले हत्या गरेको थियो। हामीले यो बिभत्स घटनाबारे जनतालाई सुसूचित गर्न र त्यस गाउँमा पार्टीको तर्फबाट समवेदना व्यक्त गर्दै उनीहरुको विश्वास कायम गर्न जरुरी थियो। यस्तै जनतामा जाँदै अगाडि बढे। पहिलो सदरमुकाम कार्वाही डोल्पा कब्जा गर्दा पनि मैले सहभागी हुन पाए। पछि आएर घोराही, सदबरिया लगायतका कार्वाहीमा पनि गए। सानोमा कलाकारको भुमिकामा पनि रहे। विद्यार्थीको जिल्ला सदस्य सम्म भए र पछि भुमिगत हुने कुरा भए पछि बैधानिक मोर्चा भएकोले अन्य संगठनमा आबद्ध भए।

५.कुनै अविस्मरणीय घटनाहरु सम्झिनु हुन्छ ?
-जनयुद्धको सुरुवाती समयमा २०५६ को स्थानीय निर्वाचनको क्रममा सिस्ने गाबिसमा हामीलाई एम्बुस थाप्ने जिम्मेवारी दिइएको थियो। हामी घेरामा पर्यौ। गोलीको बर्षा हुन थाल्यो, भागाभाग भयो। त्यहीँ हो प्रहरीले पहिलो पटक एसएलआर हतियार चलाएको। स्यालापाखाकी एक जना बहिनी लक्ष्मीलाई गोली लागेछ। राती सम्म उनी सम्पर्कमा न आएपछि एउटा टोलि खोज्न गयो। उनको शव भेटियो। यो कुराले हामी सबै स्तब्ध भयौं।
अर्को घटना मैले सधै सम्झिने गर्छु हुकाम-मैकोटको। त्यतिखेर सशस्त्रलाई दङ्गा भन्ने गरिन्थ्यो। हुकाम-मैकोटमा सशस्त्र प्रहरीको टोलिसँग हाम्रो जंकाभेट भयो। सुरुमा २ जना अगाडि केहि फरकमा आएका थिए। उनीहरुले हामीहरुलाई अचानक हेरेर आत्तिएर जङ्गलको भित्तातिर मुख फर्काएर उभिए। पछाडिको प्रहरीको टिम न आउदै हामीहरू सरासर भाग्यौ। त्यो भूगोलमा म नयाँ थिए। अरु कमरेडहरु त्यहीँको हुनु हुन्थ्यो। कुनै बिकल्प थिएन। भिरालो पहाड र तल भेरी नदी थियो। पारी जान एउटा काठे पुल मात्रै थियो। ग्रेनेड हानेको भए पनि फर्केर हामीतिरै आउथ्यो किन भने हामी ओरालोमा थियौँ। क.जुना भिरमा रहेको धाईरोको बोटमा अल्झिनु भयो। सबै प्रहरी उहाँमानै केन्द्रित भए। म भिरबाट खसेर तल खोचमा पुगे। पार्टीको निर्देशन अनुसार स्थानीय भेषभूषा लगाउने कुरा थियो। मैले लुङी लगाएकी थिए तर जिउको कपडा सबै धुजा धुजा भएको थियो। म उठेर हिंड्ने अवस्थामा थिएन। हामीहरू ७ जना थियौँ र उनीहरु ६२ जना। यतिकयमा हुकाम घर भएको हाम्रो टिमकै सब भन्दा सानो भाई म तिर आए। उनले दुश्मन नजिकै आई सक्यो हिंड्नु दिदी भने। मैले उनलाई सम्झाए कि मेरो कारणले उनको ज्यान जान सक्छ। उनी जान मानेन। उनका दाई क.अभिवादन र भाउजु पनि अगाडि गई सक्नु भएको थियो। मैले गएर पार्टीलाई यताको अवस्थाबारे खबर गर्नु र मेरो लागि आफ्नो ज्यान जोखिममा न हाल्न पनि भने। तर उनले मानेनन। बिस्तारै मलाई डोर्याउदै काठे पुल क्रस गराएर जङ्गलको एउटा ओढारमा लगेर पुर्याए। जादा जाँदै ६ राउन्ड फायर सुन्यौं। क.जुनालाई मारेछ। उहाँ पुर्णकालिन भएको ५ दिन मात्र भएको थियो।
त्यस्तै अर्को एउटा घटनामा हतियार संकलन गर्दै थियौँ। त्यतिखेर सामन्ती जालीहरुको घरबाट ठुलो परिमाणमा हतियार कब्जा गरेका थियौँ। एक जनाको घरमा हतियार भएको जानकारी आएपछि उनको घरमा गयौं। क.संकल्प र म सुरुमै भित्र छिर्यौ। संकल्पसँग एउटा भरुवा बन्दुक र मसँग खुकुरी थियो। तर मलाई त्यो घरमा भएका ५/६ जना महिलाहरुले समाते र संकल्पलाई घरको मुख्य मान्छेले। संकल्पको कद सानो थियो तर उनले हार मानेका थिएनन्। घम्सा घम्सी चल्यो। मैले बल्ल तल्ल कम्मरमा भएको खुकुरी सम्म हात पुर्याए र बाहिर निकाल्न सफल भए। त्यसपछि ती महिलाहरु भागे। मैले खुकुरी देखाउदै संकल्पलाई छोडन भने। यत्तिकैमा बाहिर भएका साथीहरू आए। यस्ता धेरै कुराहरु छन जुन बेला बखत सम्झिन्छु, मेरो मानसपटलमा घर बनाएर बसेका छन।

६.आमा बन्दाको क्षण कस्तो थियो ?
-त्यो क्षण सुखद हुन्छ तर भुमिगत अवस्थामा नानी हुर्काउन निकै गारो बिषय हो। मेरो बिहेको भएको घर दाङ हो। मेरो कार्यक्षेत्र त्यहीँ थियो, म गर्भवती रहेको ८ महिना सम्म पनि फिल्डमै थिए। नानी पेटमा ६ महिनाको हुँदा रामपुरमा सेनाको घेरा तोडेको हो, निकै कष्टकर दिन थिए। २०६० सालमा नानी जन्मिदा ओपरेसन गर्नु परेको थियो। त्यतिखेर म पार्टीको थारुवान सचिवालय सदस्य थिए। घोराही बजारस्थित लक्ष्मीपुरमा एक जना स्थानीय पुष्पा घिमिरे दिदिकोमा बच्चा लिएर बसें। उहाँहरुले निकै खतरा मोलेर मलाई बस्न दिनु भयो। मेरो कार्यक्षेत्र दाङको रामपुर-लक्ष्मीपुर तिर थियो। म त्यहाँको एरिया इन्चार्ज थिए। त्यतिखेर त्यो मेरो एरियामा अहिलेको बङ्लामुखी गाउँपालिका पुरै र घोराही नगरपालिकाका केही वडा पनि रहेका थिए। स्थानीय सबैले माया गर्नु हुन्थ्यो। तर नानी ६ महिनाको हुँदा, सेना सर्च गर्न आयो। त्यो राती नानी लिएर साथीहरूसँग म नजिकैको जङ्गल गएर बसें। एक बर्षकि भएपछि घर लगेर छोडें। मलाई माया गर्ने र हामीलाई आश्रय दिने पुष्पा दिदी पछि क्यान्सर भएर बित्नु भयो। अर्को नानी चाहिँ शान्ति प्रक्रिया पछि जन्मी।