भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ: प्रधानमन्त्री

राजनीति समाचार

असार १३ बुधबार,२०८०/काठमाडौं-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्‍कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको बताएका छन।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई बुधवार सम्बोधन गर्दै सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताएका हुन।

‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्‍ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ,’ उनले भने।

प्रधानमन्त्रीले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने संसद र आमजनसमुदायलाई विश्वास दिलाए।
उनले हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको पनि बताए। वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको उनको भनाई थियो। ‘बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र। म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डुंगुर भत्काइछाडिनेछ। लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ, ’ उनले बताए।