
असार २६ मंगलबार,२०८०/जुम्ला-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण करार चिकित्सक तथा अध्यापक/प्राध्यापकहरुले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी सहित आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा र शैक्षिक गतिविधिमा संलग्न नहुनेगरि ‘पेन डाउन’ सुरु गरेका छन।
जेष्ठ १४ गते सम्पूर्ण करार अध्यापक/प्राध्यापकहरु स्थायी हुनुपर्ने एक सुत्रिय माग राखी चरणबद्ध आन्दोलन घोषणा गरेका चिकित्सक तथा अध्यापक/प्राध्यापकहरुले पूर्व घोषित कार्यक्रम अनुसार जेष्ठ १४ देखी असार १५ गतेसम्म आफ्ना मागहरूको ज्ञापनपत्र स्थानीयस्तर, सम्पूर्ण पदाधिकारी, जि.प्र.का. हुँदै, सह-कुलपति तथा शिक्षामन्त्री र कुलपति तथा प्रधानमन्त्रीको कार्यलयमा बुझाउने कार्य सम्पन्न गरी केहि समय माग सम्बोधनको लागी अल्टिमेटम समेत दिएका थिए।
पूर्वघोषित कार्यक्रम अनुसार पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा उप-कुलपति डा.मङ्गल रावलले चिकित्सक तथा अध्यापक/प्राध्यापकमाथि दुर्ब्यवहार एवं आत्मसम्मानमा आघात पुग्ने मनोवृत्ति प्रस्तुत गर्दै गैरजिम्मेवारपूर्ण भएर प्रस्तुत हुनुभएपश्चात चिकित्सक तथा अध्यापक/प्राध्यापकहरुले कोणसभा गरेर पूर्व घोषित रिले अनसनको कार्यक्रम स्थगन गरी आजकै दिनदेखि अनिश्चितकालिन ‘पेन डाउन’ सहित धर्ना लगायतका आन्दोलनको घोषणा गरेको संघर्ष समितिका प्रवक्ता रबिन्द्र रोकायाले जानकारी दिए।
उक्त आन्दोलनबाट हुनजाने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयं पदाधिकारी हुनुपर्ने जानकारी समेत प्रेषित विज्ञप्तिमा उल्लेख गरेका छन । पेन डाउन सहितको आन्दोलन घोषणाले MBBS, BNS, BMS, B.Pharm, Public Health, MD लगायतका सम्पूर्ण पठनपाठन बन्द भएको छ। साथै उक्त आन्दोलनले आकस्मिक बाहेकका अस्पताल सेवाहरू समेत प्रभावित भएका छन ।
