श्रावण १६ मंगलबार,२०८०/हरियाणा-
भारतको हरियाणा राज्यस्थित मेवातमा सोमवार साम्प्रदायिक हिंसा फैलिएपछि राति देशको राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको बताइएको छ।
मस्जिद प्रबन्धन समितिका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको मृत्यु भएको र अरू मानिसहरू घाइते भएको विवरण प्रकाशित गरेको छ। तर यसबारे प्रहरीले मङ्गलवार बिहानसम्म केही बताइसकेको छैन।
मेवातमा सोमवार एउटा धार्मिक यात्राका क्रममा दुई समूहबीच हिंसा भएको थियो।
त्यहाँ पनि ठाउँठाउँमा आगजनीका घटनाहरू भएका थिए भने कम्तीमा १२ जना घाइते भएको बताइएको छ।
मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ। सरकारले त्यहाँ बुधवारसम्म इन्टरनेट बन्द गरिदिएको छ।
इमाम सादका दाइ शादाब अनवरले भने, “मैले आफ्नो भाइको अनुहार मात्र देख्न पाएँ। अहिले म शवगृहमा छु। अब उजुरी दर्ता गर्छौँ। मेरा भाइ विगत सात महिनादेखि यस मस्जिदका इमाम थिए। उनी २२ वर्षका थिए।”
शादाबले गत राति करिब साढे ११ बजे भाइ सादसँग कुरा गरेका थिए।
उनले भने, “हामी मूल रूपमा बिहारका हौँ। आज मेरो भाइ घर फर्किन लागेको थियो। मैले उसलाई फोनमा जबसम्म वातावरण सहज बन्दैन तबसम्म मस्जिदबाट बाहिर ननिस्किन भनेको थिएँ। हाम्रो अन्तिम संवाद यही नै थियो।”
प्रहरीले सुनिश्चित गरेको थियो सुरक्षा
हरियाणा अन्जुमन ट्रस्टका अध्यक्ष मोहम्मद असलम खानका अनुसार सोमवार साँझ प्रहरी आफूहरू कहाँ आएर मस्जिदको सुरक्षाको जिम्मेवारी लिएका थिए।
उनले भने, “स्थानीय थानाका प्रहरी हामीकहाँ आएर आफ्नो समूह मस्जिदमा नै उपस्थित रहने बताएका थिए। हामीले मस्जिदका इमाम र त्यहाँ रहने अन्य दुई कर्मचारीहरूको बारेमा कुरा गर्दा उनीहरूले चिन्ता नलिन भनेका थिए।“
आफू नमाज पढेर फर्कने समयसम्म प्रहरी मस्जिदमै उपस्थित रहेको उनले बताए। उनका अनुसार राति १२ देखि १२ः३० बजेको बीचमा आक्रमण भएको हो। सुरुमा मस्जिदको क्यामरा फुटाएर त्यसपछि आगो लगाइएको थियो।
सन् २००४ मा हरियाणा सरकारले गुरुग्राममा १७ वटा मन्दिर, दुईवटा गुरुद्वारा, एउटा गिर्जाघर र एउटा मस्जिद निर्माणका लागि जग्गा बाँडफाँट गरेको थियो। आगो लगाइएको मस्जिद सोही जग्गामा निर्माण भएको गुरुग्रामको एक मात्र मस्जिद हो। त्यहाँ वरपर बस्ने मुसलमानहरू नमाज पढ्न उक्त मस्जिदमा जान्छन्।
महाराष्ट्रको ठाणेमा ठूलो दुर्घटना, १६ जनाको मृत्यु

महाराष्ट्रको ठाणेमा मङ्गलवार एउटा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको बताइएको छ।
एबीपी न्यूजसँग कुरा गर्दै महाराष्ट्र सरकारका मन्त्री दादाजी भुसेले घटनाको पुष्टि गरेका हुन्।
ठाणेको शाहपुरमा अवस्थित एउटा पुलबाट एउटा उपकरण खसेपछि उक्त घटना भएको हो।
एएनआईका अनुसार उक्त उपकरण समृद्धि एक्सप्रेस राजमार्गको निर्माण कार्यका लागि प्रयोग भइरहेको थियो।
घटनास्थलमा न्याश्नल डिजास्टर रेस्पोन्स फोर्स एनडीआरएफको टोली पुगेको छ र उद्धार कार्य जारी रहेको जनाइएको छ।
दुर्घटनामा परी तीन जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये केहीको शव अझै पनि उपकरणले थिचिएको हुनसक्ने बताइएको छ।
