श्रावण १६ मंगलबार,२०८०/काठमाडौं-
प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन गरेका छन।
मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले राज्यको सीमितता र साधनस्रोतका बाबजूद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको कार्य अगाडि बढाउन निर्देशन दिएका हुन।
बैठकमा प्रधानमन्त्रीले भने, ‘‘राज्यको साधनस्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजूद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहेनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्तहरू छन्। तसर्थ, विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता कामहरू गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्नसमेत म यहाँहरूको ध्यानआकृष्ट गराउँछु।’’
प्रधानमन्त्रीले उच्चशिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धानमा आधारित बनाउनुपर्छ भन्दै अनुसन्धान देशको सर्वाङ्गीण विकासमा केन्द्रीत हुनुपर्ने बताए।
उनले सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरूलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य (M.Phil.) तथा विद्यावारिधि (Ph.D.) कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिनेजस्ता कार्यहरू महत्वपूर्ण एवम् प्रशंसनीय भएको पनि उल्लेख गरे।
