माओवादी केन्द्र सल्यानद्वारा ३ महिने अभियान बारे प्रतिबद्धता पत्र सार्वजनिक

राजनीति समाचार


भाद्र ८ शुक्रबार,२०८०/सल्यान-
नेकपा माओवादी केन्द्र सल्यानले ‘जनतासँग माओवादी-विशेष रुपान्तरण अभियान’ अन्तर्गत आज जिल्लाका प्रथम सहिदहरु खिम बहादुर डि.सी, हेमराज के.सी र धन बहादुर थापाको सहादत भएको स्थान बागचौरमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
शुक्रबार दिउँसो बागचौरस्थित थारमारे बजारमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै माओवादी केन्द्रका सल्यान जिल्ला अध्यक्ष नरेश भण्डारीले प्रतिबद्धता व्यक्त गर्दै माओवादी केन्द्र्बाट निर्वाचित जनप्रतिनिधि भए पनि गलती गरेमा कार्यालयमा ताला लगाउन आव्हान गरे। नेता भण्डारीले आफ्नो पार्टी भन्दैमा गलत गर्ने छुट कसैलाई न भएको बताए। उनले आफ्नो पार्टी अध्यक्ष प्रचण्डले गलती गर्ने जो कोहिलाई पनि न छोडन निर्देशन दिएको पनि स्मरण गराए।
नेता भण्डारीले विकसित, समृद्ध र सुशासनयुक्त मुलुक निर्माण गर्ने वर्तमान आवश्यकता भएकोले सरकारले ऐतिहासिक कदम चालेको बताए। यसैगरी प्रतिबद्धता पत्रमा लेखिएको छ,’गणतन्त्र संस्थागत विकासमा विलम्ब हुँदा प्रतिगमनको खतरा बढेको छ।
‘सुशासनका लागि व्यापक जनमत सृजना गर्न आम नेपालीको प्राथमिकता भएको’ पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
माओवादी केन्द्रले यहि भाद्र १६ गतेका दिन एकसाथ ३ महिने अभियान घोषणा गरेको छ। यसअन्तर्गत विभिन्न प्रदेश र जिल्लाका इन्चार्ज परिवर्तन गरिएका छन। जसका लागि माओवादी केन्द्रका नेता आफ्ना जिल्लामा न बस्ने निर्णय पनि भएको छ, नयाँ कार्यस्थान तोकिएका छ्न।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला संयोजक कृति बहादुर पुन, बागचौर इन्चार्ज देविलाल गौतम, छत्रेश्वरी गाउँपालिका इन्चार्ज उमाकान्त शर्मा, त्रिवेनी गाउँपालिका इन्चार्ज टीका बुढाथोकी, शारदा नगरपालिका इन्चार्ज गणेश प्रसाद सिंह, बनगाड कुपिण्डे नगरपालिका इन्चार्ज कर्ण बहादुर बुढाथोकी, कुमाख गाउँपालिका इन्चार्ज लक्ष्मी पुन लगायतको उपस्थिति थियो।