प्रधानमन्त्री प्रचण्डको भ्रमणको उपलब्धि कार्यनयन हुने, १० हजार मेगावाट बिजुली भारतले किन्ने !

अर्थ राजनीति समाचार

भाद्र १९ मंगलबार,२०८०/नयाँ दिल्ली-
भारतको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय कार्यान्वयन हुने भएको छ ।

ऊर्जा मन्त्रालयका एक जना अधिकारीका अनुसार दुवै देशका अधिकारीहरूले चाँडै पछिल्लो निर्णयमा हस्ताक्षर गर्ने जानकारी दिँदै, यसबाट दैनिक रूपमा बोलकबोल गरेर बिजुली विक्री गर्नुपर्ने अहिलेको अवस्था अन्त्य हुनेछ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतले भारतीय मन्त्रिपरिषद्को निर्णयपछि अब नेपालले जलविद्युत् पूर्वाधारहरू वृद्धि गर्नुपर्ने र बिजुली बेच्न सक्ने क्षमता बढाउनुपर्ने बताएका छन ।

अहिले नेपालबाट ५२२ मेगावाट बिजुली प्रति दिन भारतमा विक्री गर्ने गरिएको छ र अधिकारीहरूका अनुसार हरेक दिन भोलिपल्ट विक्री गर्ने बिजुलीको मूल्य बोलकबोल प्रणालीबाट तय गर्ने गरिन्छ।

पछिल्लो निर्णयको अर्थ
गएको मे महिनाको अन्त्यमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नयाँ दिल्लीको भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मुलुकले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने घोषणा गरेका थिए ।

नेपालको मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भ्रमणअघि नै अनुमोदन गरेको उक्त निर्णयलाई अहिले आएर भारतीय मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो ।

प्रचण्डको सेप्टेम्बरमा हुन लागेको चीन भ्रमण अगावै भारतले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डको नयाँ दिल्ली भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता सम्बन्धी समझदारीलाई नेपाल र भारतका अधिकारीहरूले महत्त्वपूर्ण साझेदारीका रूपमा त्यसबेला चित्रण गरेका थिए ।

नेपाल र भारतलाई आगामी वर्ष ४०० केभीको प्रसारणलाइनले जोड्ने अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको ठोस कार्यान्वयन सुरु भएलगत्तै भारतीय मन्त्रिपरिषद्को पछिल्लो निर्णय बाहिर आएको हो ।