असोज १५ सोमबार,२०८०/काठमाडौं-
पशुपति जलहरी प्रकरणमा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीपकुमार ढकाल र हालका सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
आइतबार अख्तियार दुरुपयोग आयोगले पुर्व सदस्य सचिव डा. प्रदिपकुमार ढकाल र हालका सदस्य सचिव मिलनकुमार थापा विरुद्ध
भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।
तत्कालिन सदस्य सचिव थापा हाल कोषको सदस्य सचिव छन् ।
यसैगरी अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिको सुन प्रकरणको बिषयमा बोल्दै सदस्य सचिव थापा बारम्बार रोएको देखिएको थियो । थापाले जलहरीमा एकरति पनि भ्रष्टाचार नभएको दावी गर्दै दोषी पाइए मृत्युदण्ड भोग्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय गरेपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो ।
सो प्रयोजनका लागि राष्ट्र बैंकबाट १०३ किलो ७७३.१ ग्राम सुन किनिएको थियो ।
