
असोज १५ सोमबार,२०८०/रागेचौर-
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा सल्यानको कुमाखमा नेकपा माओवादी केन्द्रले शहिद परिवारहरुलाई सम्मान गरेको छ ।
सोमबार कुमाखको रागेचौरमा आयोजित सहिद परिवार समाजको दोश्रो भेलापछि नेकपा माओवादी केन्द्र कुमाखले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमका बिचमा सहिद परिवारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले सहिद परिवारले आफ्ना आफन्तहरुको रगत खेर जान्छ कि भन्ने चिन्ता व्यक्त गरेको जवाफमा आफुहरुले त्यसो हुन नदिने बताएका थिए ।

“कुमाख पहाडको जस्तो उचाई हाम्रो पार्टीको छ र त्यो अटल हुनेछ । त्यसको जवाफ हामीले २०८४ को निर्वाचनमा दिने छौँ ।” नेता भण्डारीले बताए ।
उनले माओवादी ३२ सिटे भए पनि समग्र ऐतिहासिक निर्णयहरु प्रचण्ड सरकारले गरेको बताए । उनले सरकारका राम्रा कार्यको प्रचार गर्न पनि निर्देशन दिए ।
साथै बिशेष अतिथि तथा पार्टीका जिल्ला अध्यक्ष कृति बहादुर पुनले सहिदहरुले देखाएको बाटो कहिले पनि बिर्सने न हुने भन्दै नेता कार्यकर्ताहरुले आफ्ना कमीकमजोरीहरु सुधार्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढनु पर्ने बताए ।
नेता पुनले स्वतन्त्र भन्ने शब्द नेपाली राजनितीमा दुरुपयोग भएको बताउदै सबै जना सचेत भएर नक्कली चरित्रबाट जनतालाई सचेत बनाउनु पर्नेमा जोड दिए ।

अन्य अतिथिहरुमा पालिका इन्चार्ज तथा केन्द्रिय सदस्य लक्ष्मी पुन, केन्द्रिय सदस्य दिल कुमारी बुढा, प्रदेश कमिटी सदस्य अनन्त प्रसाद शर्मा, मोमत रोकाया, चन्द्र राना लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सभापति पालिका अध्यक्ष डिल्लीराज जैसीले गरेका थिए भने स्वागत भाषन जिल्ला कमिटी सदस्य धन्सरा मल्लले गरेकी थिईन । कुमाखमा ५८ जना सहिदहरु रहेका छन ।
