
कार्तिक ३ शुक्रबार,२०८०/काठमाडौं-
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः निर्वाचन गराउन माग गरिएको छ ।
बिहीवार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा भए पनि महासचिव उम्मेदवार डा.केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखिएपछि विवाद उत्पन्न भएको हो ।
अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका आरके शर्मा र महेश श्रेष्ठले धाँदली गरेको आरोप लगाउदै पुनः निर्वाचनको माग गर्दै अध्यक्षका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठले शुक्रवार प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानासमक्ष निवेदन दिएका थिए ।
घोषणा भएको परिणाम अनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी देखिएका छन । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन ।
विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि देखिएपछि निर्वाचन प्रक्रिया रद्द गर्न आवाज उठेको हो ।