गठबन्धन पाँच वर्ष नै जान्छ, कसैले भ्रम नपाल्दा हुन्छ : प्रधानमन्त्री

राजनीति समाचार


कार्तिक ९ बिहीवार,२०८०/रुकुम पश्चिम-
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन पाँच वर्ष नै जाने बताएका छन । प्रधानमन्त्री प्रचण्डले बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्रीले भने, “यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन् । म तपाईलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ ।”
अर्को प्रसंगमा प्रधानमन्त्रीले भन्नुभयो, “संयुक्त राष्ट्रसंघको महासभामा जाँदा मैले राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको थिएँ । जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ । मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ। यसले विश्वको ध्यान नेपालमा खिच्नेछ। यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो ।”

“कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ । हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं” प्रधानमन्त्रीले भन्नुभयो, “कतार उदीयमान मुलुक हो । उ नेपालमा लगानी गर्न इच्छुक छ । यसका लागि हामीले सकारात्मक पहल गरेका छौं ।”

“क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें । तपाईहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो । शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु। यो आधार इलाकाबाट उर्जा लिएर फर्किने गरेको छु । मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ” उनले भने ।

“म प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनेको छ । लाखौं मिटरब्याज पीडित जनताले न्याय पाएका छन्, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको छ । देशको स्वाधीनता र समृद्धिका लागि कुटनीतिक पहल गरिएको छ।”
अर्को प्रसंगमा उनले भने, “विचारको प्रश्न सबैभन्दा माथि हुन्छ । पहिला प्रचण्डपथ थियोे, त्यसले हामी सबैलाई केन्द्रीकृत र एकीकृत गरेको थियो । अहिले अलिकति अनेकता देखिएको छ । फेरि हामी विचार संश्लेषण गर्छौं र नयाँ विचारसहित अगाडि जान्छौं ।”
“कर्णालीको विकास मेरो प्राथमिकतामा छ” उनले थपे, “शान्ति प्रक्रियापछि रूकुमको मुहार फेरिएको छ । विकास निर्माणका धेरै काम भएका छन् । तर, ती पर्याप्त छैनन् । आगामी दिन रूकुमको विकास उच्च प्राथमिकतामा रहनेछ ।”

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिवद्वय जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।