हिम्मतका साथ अघि बढौं, माओवादी फेरि शक्तिशाली बन्छ : प्रधानमन्त्री

राजनीति समाचार


कार्तिक ९ बिहीवार,२०८०/रूकुम पश्चिम-
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिम्मतका साथ अगाडि बढेर माओवादी केन्द्र फेरि शक्तिशाली पार्टी बन्ने बताएका छन ।

पार्टीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा पश्चिम रूकुमको बाफिकोट आइपुगेका प्रधानमन्त्री प्रचण्डले बाफिकोट वडा नम्बर ६ र ७ को संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी शक्तिशाली बन्ने बताएका हुन ।
प्रधानमन्त्रीले भने, “अभियानको क्रममा पार्टीका नेताहरू गाउँ-गाउँ पुग्नुभएको छ । पार्टी नेतृत्वको सरकारले देश र जनताको पक्षमा प्रभावकारी काम गरिरहेको छ । यसरी हेर्दा माओवादी केन्द्र फेरि शक्तिशाली पार्टी बन्छ । यो पार्टी कमजोर भए गणतन्त्र नै उल्टिन्छ । यो हाम्रा लागि जीवन मरणको संघर्ष नै हो । यो देश हामीले मात्र बचाउन सक्छौं । हिजो विभाजित भएका साथीहरू पनि समाजवादी मोर्चामा आउनुभएको छ । पार्टी एकताका निम्ति पनि सकारात्मक पहल हुँदैछ । जस्तोसुकै परिस्थिति आए पनि हामीले हिम्मत हार्नु हुँदैन । पार्टी शक्तिशाली हुन्छ। शक्तिशाली बनाइन्छ।”
“सात वटै प्रदेशका १/१ वटा वडामा जाने योजनाअनुसार म यहाँ आएको छु । पार्टीलाई जनतासँग जोड्ने, पार्टी रूपान्तरण गर्ने र पार्टी जनतातिर फर्काउने हाम्रो लक्ष्य छ” प्रधानमन्त्रीले भन्नुभयो, “यो अभियानले पार्टी बन्छ कि भन्ने जनतामा आशा र भरोसा बढ्न थालेको देखिन्छ। सबै रिपोर्ट हेर्दा अभियान प्रभावकारी नै देखिएको छ। जनयुद्धको जस्तो क्रान्तिकारी, जनतासँग घुलमिल हुने पार्टी बन्न सक्ला त ? यो हामी सबैका लागि महत्त्वपूर्ण प्रश्न हो । हिजो जनयुद्ध जनवादी क्रान्तिमा थियो, अहिले हामी समाजवादी क्रान्तिको तयारीमा छौं । सोहीअनुरूपको पार्टी बनाउँछौं ।”
उनले भने, “अहिले हामीकहाँ केही निरासाजस्तो, विरोधीहरू, प्रतिक्रियावादीहरू फेरि टाउको उठाउन खोज्नेजस्तो स्थिति छ । यसलाई चिर्न पार्टीभित्र र सरकारको मोर्चाबाट सँगसँगै काम गरिरहेका छौं । तसर्थ, परिवर्तनका मुद्दा र देश बचाउने जिम्मेवारी हाम्रो काँधमा छ।”
“हामीले तरिका मिलाएर सरकारको नेतृत्व गर्यौं, यो त्यत्तिकै भएको होइन । यहाँ पार्टीको कलात्मक नेतृत्वले काम गरेको छ। एकपटक हामी १००% मत प्राप्त गर्यौं। यो न हिजो थियो, न भविष्यमा होलाजस्तो खाले छ” प्रधानमन्त्रीले भन्नुभयो, “मिटरब्याज पीडित किसानहरूको समस्या समाधान गरेेका छौं । यसले मधेशमा माओवादीप्रति राम्रो आधार बनेको छ । जनताका लागि काम गर्ने पार्टी माओवादी भएको जनमत बनेको छ। नागरिकताबिहीन लाखौं नेपालीले नागरिकता पाएका छन् । हामीले लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौं ।”
प्रधानमन्त्रीले भने, “सुशासनको क्षेत्रमा नयाँ पहल लिइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले राम्रो पहल लिएका छौं । भ्रष्टाचारविरूद्भ सरकारले गम्भीरतापूर्वक काम गरिरहेका छौं । राष्ट्रिय स्वाधीनताका क्षेत्रमा महत्त्वपूर्ण काम गरिएको छ । १० वर्षमा १० हजार मेघावाट विद्युत व्यापारको सम्झौता गरिएको छ । २५ वर्षदेखि अड्किएका परियोजनाहरू अगाडि बढेका छन् । चीनसँग महत्त्वपूर्ण सम्झौता भएका छन्।”
“विश्व ठूलो ध्रुवीकरणमा जाँदैछ, हामीले बचाएर लैजानुपर्छ । ठूलाठूला युद्धका परिघटना देखिएका छन् । हामीले कुटनीतिक सन्तुलन कायम गर्नुपर्छ । यो देश हामीले मात्रै बचाउन सक्छौं” उनले थपे ।
बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्मा, मातृका प्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पार्टी प्रदेश अध्यक्ष बिमला केसी लगायतका नेताहरूको उपस्थिती थियो ।