नेपाल आइपुगे राष्ट्रसङ्घका महासचिव गुटेरस !



कार्तिक १२ आइतबार,२०८०/काठमाडौं-
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपालको चार दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा चौहत्तर वर्षीय
गुटेरस आइतबार बिहान काठमाडौं आएका हुन ।

पोर्चुगलका प्रधानमन्त्री रहीसकेका महासचिव गुटेरसलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीसँग राष्ट्रसङ्घको ‘पिस अपरेसन’ तर्फका उपमहासचिवसहित वरिष्ठ राष्ट्रसङ्घीय अधिकारीहरू पनि सो टोलिमा सामेल छन ।

ककसलाई भेटने!

गुटेरसले आइतवार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका उच्चपदस्थ व्यक्तिहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उनको सम्मानमा आइतबार साँझ प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्ने तालिका रहेको छ ।

त्यस्तै उनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सरकारी समाचार संस्था राससले जनाएको छ ।

गुटेरसको उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत छुट्टाछुट्टै भेटवार्ता हुनेछ ।

भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने बताइएको छ ।

काठमाडौं बाहिरको भ्रमण !

भ्रमणका क्रममा सोमवार उनी सोलुखुम्बुको नाम्चे, कास्कीको पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् ।

त्यस्तै आगामी मङ्गलवार अपराह्ण चार बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमणमा आएका गुटेरसले नेपालको शान्ति प्रक्रिया, दिगो विकास लक्ष्य, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यो भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साइनो खास गरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रिया अनि अन्य आर्थिक-सामाजिक विकासका मुद्दासँग जोडिएको छ।

महासचिवको भ्रमणलाई नेपालले आफ्ना मुद्दामा अन्तर्राष्ट्रिय ध्यान खिच्न उपयोग गर्नु पर्ने कूटनीतिक जानकारहरू बताउँछन्।

अहिले नेपालले आफ्ना ६ हजार २ सय ९९ सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा विभिन्न देशमा खटाएको छ।

यो सङ्ख्या बाङ्ग्लादेशको ७ हजार २ सय ७९ भन्दा मात्र ९ सय ८० जनाले कम हो ।

महासचिव गुटेरसको नेपाल भ्रमणको अर्को प्रमुख एजेन्डा भनेको विकास सहायता अनि दिगो विकास लक्ष्य जस्ता विषय हुन् ।

गरिबी निवारणदेखि लिएर शिक्षा, स्वास्थ्य अनि वातावरणसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू सन् २०३० भित्रै पूरा गर्न अर्बौँ रुपैयाँको लगानी नेपाललाई आवश्यक छ।

जलवायु परिवर्तनको मामिलालाई अहिले राष्ट्रसङ्घले निकै महत्त्व दिने गरेको छ ।

एक त अल्पविकसित देश अनि अर्को पर्वतीय भएकाले नेपालले जलवायु परिवर्तनका कारण धेरै अनुपातमा चुनौती बेहोर्दै आएको छ।

यस्ता मामिलामा राष्ट्रसङ्घ साथ सहयोग खोज्नु अपरिहार्य हुने बताइन्छ।

नेपालमा एक दशक चलेको माओवादी सशस्त्र द्वन्द्व अन्त्य लगत्तै यहाँको शान्ति प्रक्रियामा राष्ट्रसङ्घ प्रत्यक्ष तथा परोक्ष संलग्न रह्यो।

उसको नियोग अन्मिन नेपालमा सन् २००७ देखि २०११ सम्म रह्यो।

त्यसपछि पनि शान्ति प्रक्रियासँग जोडिएका सत्य निरूपण अनि बेपत्ता पारिएकाहरूको छानबिनको विषयलाई राष्ट्रसङ्घीय निकायहरूले बारम्बार उठाउने गरेका छन्।

अहिले सरकारले त्यससम्बन्धी संसद्मा विधेयक दर्ता गराएको छ।

त्यसमा राष्ट्रसङ्घले विपक्षी दल तथा पीडित पक्ष सहित अन्तर्राष्ट्रिय समुदायको सहमति खोजिरहेको छ।

त्यहाँको समाजवादी दलका नेता गुटेरस १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्री रहे।

सन् २०१७ मा राष्ट्रसङ्घको नवौँ महासचिवको पद सम्हाल्नु अगाडि उनी राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका प्रमुख पनि रहेका थिए।

गुटेरसलाई जुन सन् २०२१ मा राष्ट्रसङ्घको महासचिवको दोस्रो कार्यकालका निम्ति पनि चयन गरिएको थियो।

सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा हालसम्म ६ जना महासचिवले भ्रमण गरेका छन्।

विश्वकै उच्च कूटनीतिज्ञ पनि भनिने राष्ट्रसङ्घ महासचिवको पद कुनै राष्ट्रप्रमुख सरह सम्मानित मानिन्छ।

हाल सम्मकै चर्चित भ्रमणहरुमा सन् २००१ को मार्चमा महासचिव कोफी अन्नानको रह्यो । त्यस्तै २००८ को अक्टोबरमा महासचिव बान कि मुन काठमाडौं आएका थिए ।

यसैगरी बिगतमा आफ्ना समयका अन्य महासचिवहरुले पनि नेपाल भ्रमण गरेका छन ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार
अरु पनि पढ्नुहोस्