नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको कुरालाई समर्थन गर्न पाउँदा गर्व लागेको छ : राष्ट्रसंघ महासचिव गुटरेस

अन्य राजनीति समाचार


कार्तिक १४ मंगलबार,२०८०/काठमाडौं-
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेर युद्धबाट शान्तितर्फ उन्मुख भएको कुरालाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको बताएका छन ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

“तपाईँहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ । प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन,” उनले जिकिर गरे ।

उनले भने सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना तब हुन्छ जब यो प्रक्रिया समावेशी तथा बृहत् हुन्छ र जसको केन्द्रमा पीडितहरू हुन्छन् ।

उनले नेपाल सो प्रक्रियामा एक्लो न भएको पनि बताए ।

“दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैले बनाउनुभएको छ,” गुटरेस्ले भने “विगत बीस वर्षको तपाईहरूंको यात्रा हेर्नलायकको छ, अद्भुत छ ।”

सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गर्दै, आफु यसरी सम्बोधन गर्न पाउनु सम्मानको कुरा भएको बताए र मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि भएको उल्लेख गरे ।

उनले आफु पहिलो पटक सन १९७० को दशकमा नेपाल भ्रमण गरेको र जति पटक आएको आफु छक्क परेको प्रतिक्रिया दिएका छन ।

“म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्य र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु,” उनले धन्यवाद दिए ।

“यो देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायु सम्बन्धी कार्यको कट्टर समर्थक हो,” उनले थपे ।

साथै उनले जलवायु प्रकोपका सङ्कटहरूका बिरुद्ध प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्ने बताए । वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश रहेको उल्लेख गर्न पनि उनले छुट्टाएनन ।

“हिमनदीहरू असामान्य गतिमा पग्लिरहेका छन् । नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको छ ।
पानीले भरिएका ताल फुट्दैछन् । नदी र समुद्रको पानी बढ्दै छ ।
र पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ,” उनले भने ।

यसैगरी उनले महिलाहरूको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम भएको कुरा पनि जिकिर गरे ।

साथै महासचिव गुटरेसले मृत्यु भएका दश नेपाली विद्यार्र्थीका परिवारजनमा पनि गहिरो समवेदना प्रकट गर्दै बेपत्ता विपिन जोशीको सकुशल आगमनका लागि कामना गरे ।