कार्तिक २३ बिहीवार,२०८०/रुकुम पश्चिम-
कान्तिपुरले उल्लेख गरेको जाजरकोट जान लागेको भनिएको राहत रुकुम पश्चिम पुर्याइएको भन्दै समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालयले रेकर्डमा हेर्दा सोबारे विवरण नभेटिएको बताएको छ ।
रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले कान्तिपुरमा प्रकाशन भएको कार्तिक २३ गतेको “भुकम्प राहतमा पुर्व अर्थ मन्त्री शर्माको सम्वेदनहीन राजनीति” शिर्षकको समाचार प्रकाशन भएपछि आफ्नो रेकर्डको विवरण हेरेको थियो ।
“नेता शर्माको निर्देशनमा सल्लीबजारबाट मोडेर रुकुम पश्चिम् पुर्याई आठबिसकोट नगरपालिकामा वितरण गरिएको भन्ने समाचारप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,” जिल्ला प्रशासन कार्यालयको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
“…यस कार्यालयमा समेत कुनै अभिलेख नरहेको र सम्बन्धित आठबिसकोट नगरपालिका नगर प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतसँग बुझ्दा समेत उक्त सामाग्री वितरण नभएको जानकारी हुन आएको छ…,” बिज्ञप्तिमा लेखिएको छ ।
साथै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद पन्तले विभिन्न निकायहरुबाट प्राप्त राहत सामाग्रीहरु वितरण जिल्ला प्रशासनमा अभिलेखिकरण गरि सम्बन्धित स्थानिय तहहरुमा वितरणका लागि पठाउने गरेको बिषय जानकारी गराउदै यस प्रकारका समाचारहरु सम्बन्धित निकायहरूवाट आधिकारिकता बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेका छन ।
यसैगरी पुर्व अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रूपमा आफ्नो राजनितिक जीवन माथी प्रहार गरी बदनाम गरी चरित्रहत्या गर्ने कडीको रूपमा लिएको बताएका छन ।
“स्थानीय सम्वाददाताको हवाला दिँदै जाजरकोटको लागी आएको राहत सामाग्री मेरो दवावमा रुकुम पश्चिम कब्जा गरि लगिएको जस्ता भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएको देख्दा म अचम्मित भएको छु,” उनले भने,”जाजरकोटका भेरी नगरप्रमुख चन्द्र प्रकास धर्तीको भनाई समेत ‘कोट’ गरिएको छ, जुन विषय नगरप्रमुख स्वयंले आफूले बोल्दै नबोलेको विषय कान्तिपुरले कसरी प्रकाशित गरेको व्यक्त गरेपछि सजिलै अनुमान गर्न सकिन्छ।”
नेता जनार्दन शर्माले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा भुकम्प गएको अर्को दिनदेखिनै आफु त्यस क्षेत्रमा एउटा जिम्मेवार राजनीतिकर्मीको रूपमा स्थानीय निकाय लगायत सरोकारवाला सबैसँग हातेमालो गर्दे खटिरहेको समेत जानकारी गराए ।