मङ्सिर ३ आइतबार,२०८०/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै मनाईने छठ पर्वका अवसरमा शुभकामना दिएका छन ।
आइतबार तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश व्यक्त गरेका हुन ।
“छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ,” उनले शुभकामना सन्देशमा भनेका छन ।
“भूगोल र क्षेत्रफलको हिसाबले सानो भएता पनि भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले हामी नेपालीहरू विश्वमै विशाल र वैभवशाली छौं । यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले राम्रोसँग प्रमाणित गर्दछन,” उनले उल्लेख गरेका छन ।
छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुने उनले बताएका छन ।