विरोधीले हानेका ढुङ्गा संकलन गरेर बिकाश निर्माण गर्ने छौ : पर्यटन राज्य मन्त्री सुशिला सिर्पाली

राजनीति समाचार

मङ्सिर १५ शुक्रबार,२०८०/कुमाख-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पालीले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले विरोधीले हानेका ढुङ्गा संकलन गरेर बिकाश निर्माण गर्ने बताएकी छन ।

राज्य मन्त्री सिर्पालीले बिहीवार सल्यानको कुमाखस्थित चिसापानीमा माओवादी केन्द्रले आयोजना गरेको संकल्प सभालाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन । उनले माओवादीका कारणले देशमा परिवर्तन आएको उल्लेख गर्दै तीब्र गतिमा भएको भौतिक पुर्वाधार बिकाश देखि सम्पुर्ण समावेशी उपलब्धिहरु त्यसै अनुरुप भएको दाबी गरिन ।

यसैगरी गणतन्त्र बिरोधी गतिविधिहरुलाई इङ्गित गर्दै उनले झिंगाको सरापले डिङा न मर्ने समेत बताइन् ।
“देशको कुल बजेटको एक चौथाई खर्च गर्ने राजतन्त्र हामीलाई चाहिएको छैन । कसैले पनि दिवा सपना न देखे हुन्छ,” उनले प्रतिक्रिया दिइन ।
“माओवादीलाई अरुले सिध्याएको होइन, सक्दैन पनि हामी आफ्नै कारणले सिद्धिन सक्छौं । बेलैमा हामी भित्रको खराबी हटायौ भने, हामी फेरि २०६४ मा फर्किन सक्छौं,” उनले भनिन,”सत्ता आफ्नै कारणले गुमाउने छुट हामीलाई छैन । हामी रुपान्तरण हुनुको बिकल्प छैन ।”

यसैगरी नेकपा माओवादीका पोलिट ब्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले २०६४ सम्म आफ्नो गृह जिल्ला जुम्लामा बाटो न पुगेको स्मरण गराउदै माओवादी राजनितिक मुलप्रवाहमा आएपछि जुम्लाले बिरामी जाच्ने डाक्टर पठाउन थालेको बताए ।
“हामी जीवन च्यातेर देश टाल्न हिडेका खलनायक भयौं र नागरिकता च्यातेर हिडेकाहरु नायक भए, तर यो नयाँ नेपालको योजनाकारनै माओवादी हो,” उनले ठोकुवा गरे ।

त्यस्तै माओवादी केन्द्रका सल्यान जिल्ला सम्योजक कृति बहादुर पुनले माओवादी केन्द्र अब ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ मार्फत युद्ध काल झै पुनः जनतामा जाने र देश निर्माणमा निरन्तर लाग्ने बताए ।

कार्यक्रमको सभापतित्व डिल्लीराज जैसीले गर्नु भएको थियो भने अन्य अतिथिहरुमा पार्टीकी केन्द्रिय सदस्य तथा कुमाख पालिका इन्चार्ज लक्ष्मी पुन, केन्द्रिय सदस्य तथा कालिमाटी पालिका इन्चार्ज दिल माया बुढा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न स्थानिय झाकी तथा नृत्य प्रस्तुत गरिएको थिए ।