चीन भूकम्प: कम्तीमा १00 भन्दा बढीको मृत्यु, २२० घाइते !

राजनीति विश्व समाचार

पौष ३ मंगलबार,२०८०/गान्सु-
पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै २२० जना घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

गान्सु प्रान्तमा मध्यराति भूकम्प गएको थियो। त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले उक्त भूकम्प ५.९ म्याग्निट्यूडको रहेको जनाएको छ।

केही घण्टापछि शिन्जियाङ प्रान्तमा पनि भूकम्पको दोस्रो झट्का महसुस गरिएको छ।

तर ५.५ म्याग्निट्यूडको उक्त भूकम्पले पुर्‍याएको क्षतिबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन्।

चिसोसँग जुझ्दै उद्धार
आपत्कालीन उद्धारकर्ताहरूले चिसो मौसमको सामना गर्दै चीनमा गरिबी धेरै भएका इलाकाहरूमध्येमा पर्ने उक्त ग्रामीण क्षेत्रका मानिसलाई सहयोग गर्ने प्रयास गरिरहेका छन्।

त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सिअसभन्दा कम रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्।

भिडिओ फुटेजहरूमा घाइतेहरूलाई अस्पताल पुर्‍याउँदै गरिएको र उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूमा मानिसहरूको खोजी गरिरहेको देख्न सकिन्छ।

सरकारले स्थानीय उद्धारकर्ताहरूलाई सहयोग गर्न थप जनशक्ति पठाएको छ।

चीनमा भूकम्प गएको स्थानमा उद्धारकर्ताहरूतस्बिर स्रोत,REUTERS
राष्ट्रपति सीले वक्तव्यमा उद्धार र खोजी, समयमै घाइतेको उपचार र हताहत हुनेको सङ्ख्या न्यून गर्न आवश्यक सबै प्रयास गर्न निर्देशन दिएका छन्।

सरकारी सञ्चारमाध्यमले मङ्गलवार बिहान दिएको जानकारीअनुसार गान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् भने चिन्खाई प्रान्तमा ११ जनाको मृत्यु हुनुका साथै १२४ जना घाइते भएका छन्।

ती क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको विवरणहरू जनाइएको छ।

दक्षिणपश्चिम प्रान्त सिचुवानमा गत सेप्टेम्बरमा ६.६ म्याग्निट्यूडको भूकम्प जाँदा ६० जनाभन्दा धेरै मानिसको ज्यान गएको थियो।

सन् १९२० मा गान्सुमा गएको भूकम्पमा दुई लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो।

त्यसलाई २० औँ शताब्दीको विश्वकै घातक भूकम्पमध्ये एक मानिन्छ।