पौष ३ मंगलबार,२०८०/काठमाडौं-
नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । निगमको तीन वर्षमा आम्दानी १४४ प्रतिशतले बढेको मंगलबार जारी विज्ञप्ति मार्फत जनाइएको छ ।

उनका अनुसार आ.व ०७७/७८ मा निगमले ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ र आ.व ०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ आम्दानी गरेको छ । आ.व ०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ रहेको निगमका प्रवक्ता रमेश पौडेलले खुलाएका छन् ।

अहिलेको अवस्थामा निगमको अन्तर्राष्ट्रियतर्फ चारवटा र आन्तरिकतर्फ दुईवटा जहाज उडानमा रहेका छन् । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्न आवश्यक कार्ययोजना बनाउने काम भइरहेको निगमले जनाएको छ ।
निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले जनाएको छ ।
