इच्छाराज तामाङलाई ३ वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना !

अर्थ राजनीति समाचार

माघ २१ आइतबार,२०८०/काठमाडौं-
सम्पत्ति शुद्धिकरण मुद्दाका दोषी सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभका संचालक इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय र १ अर्ब ७२ करोड जरिवाना गर्ने फैसला भएको छ ।

आइतबार विशेष अदालतले प्रतिबादी तामाङका विरुद्ध सजाय सुनाउदै सो फैसला गरेको हो ।

बिशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो ।

यसैगरी इच्छाराजको श्रीमती सिर्जना शाक्यलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ भने २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो तिर्ने फैसला भएको छ ।

साथै प्रतिवादीहरु इच्छाराज तामाङ र सिर्जना शाक्यका छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा र अर्का प्रतिवादी केशवलाल श्रेष्ठकी श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला गरिएको छ ।

प्रतिवादी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा ३०(१) (क) बमोजिम बिगो रकम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना सुनाएको उपरजिष्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीले जनाएका छन ।

असुल भएको रकम र सम्पत्ति सिभिल सहकारीका निक्षेपकर्ताहरुलाई प्राथमिकताका साथ बुझाइने उल्लेख गरिएको छ ।