
माघ २८ आइतबार,२०८०/इस्लामाबाद-
पाकिस्तानको निर्वाचन आयोगले न्याशनल असेम्ब्लीका कुल २६५ सीटमध्ये २५७ सीटको नतिजा घोषणा गरेको छ । जसअन्तर्गत बलुचिस्तानका सात क्षेत्रको नतिजा भने सार्वजनिक हुन बाँकी छ ।
अहिले सम्म इमरान खानको दल समर्थित उम्मेदवारहरू ९३ सीटमा विजयी भएका छन् ।
उता नवाज शरिफको दल मुस्लिम लिग-एनले ७४ सीटमा चुनाव जितेको छ भने बिलावल भुट्टो जरदारीको दल पाकिस्तान पिपुल्स पार्टीले ५४ सीटमा विजय हासिल गरेको छ ।
एमक्यूएमले १७ सीटमा चुनाव जितेको छ भने पाकिस्तान मुस्लिम लिग र जमीयत उलेमा-ए-इस्लामले तीन-तीन सीटमा विजय हासिल गरेका छन् ।
इमरान खानको दल पीटीआईले जितको दाबी गरिरहेका बेला नवाज शरिफको दलसहित अन्य दलहरू मिलेर सरकार गठनको प्रयासलाई तीव्र पारेको खबर आएको छ ।
त्यसै क्रममा पछिल्लो पटक एमक्यूएम पार्टीका प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री नवाज शरिफसँग भेट गरेको बीबीसी उर्दूले जनाएको छ।
शरिफको दल पाकिस्तान मुस्लिम लिग-एनका प्रवक्ता तथा पूर्वमन्त्री मरियम औरङ्गजेबले एमक्यूएम नेताहरूले नवाज शरिफलाई भेटेको जनाएका छन्।
त्यसैगरी इमरान खानको दलका अध्यक्ष गौहर अलि खानले आफ्नो दलसँग बहुमत भएका कारण देशका सबै संस्थाले त्यसलाई स्वीकार्नु पर्ने बताएका छन् ।
शरिफको दलका प्रवक्ताले पनि आफ्नो सरकार बनाउनका लागि उनको दलले भुट्टोको पार्टीसँग कुराकानी गर्ने बताएका छन् ।
उनले जियो न्यूजसँग त्यसका लागि सुरुवाती चरणको कुराकानी भएको बताएका थिए। उनले इमरान खानको दलसँग सत्ता साझेदारीको सम्भावना भने नरहेको बताएका छन् ।
त्यसअघि बिलावल भुट्टोले चाहिँ सरकार बनाउने विषयमा कुनै पनि दलसँग कुराकानी नभएको बताएका थिए ।
पाकिस्तानमा बिहीवार भएको आम निर्वाचनमा व्यापक धाँधली भएको भन्दै त्यसको नतिजालाई चुनौति दिन त्यहाँका अदालतहरूमा व्यापक उजुरीहरू परेका छन् ।
खानको पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई)ले समर्थन गरेका उम्मेदवारहरूले मतदानमा धाँधली भएको आरोप लगाएका छन् ।
चुनावी नतिजा र त्यसपछिको राजनीतिक परिस्थितिलाई लिएर उक्त दलले शान्तिपूर्ण प्रदर्शनको आह्वानसमेत गरेको छ ।
इमरान खानको दलले पाकिस्तानको निर्वाचन आयोग र अन्य सरकारी भवनबाहिर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको हो ।