चौधरीलाई रिहा गर्ने न्यायाधीश आचार्यको मुगु काज सरुवा !

राजनीति समाचार


माघ २९ सोमबार,२०८०/काठमाडौं-
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा प्रकरणमा पक्राउ परेका अरुण कुमार चौधरीलाई दुई दिन भित्रै रिहा गर्ने जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यले व्यवसायी चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्ने बिवादास्पद आदेश दिदै जनमानसमा आक्रोश पैदा गर्ने वातावरण सृजना गरेका थिए ।

आचार्यले गरेको आदेशपछि न्याय जगतमा खैलाबैला मच्चिएको थियो । आचार्यद्वारा जारी भएको आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए ।

आचार्यलाई मुगुमा काज सरुवा गरिएपछि त्यहाँ रहेका न्यायाधीश रामानन्द प्रसाद अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भइरहेको बुझिएको छ ।