फागुन २ ,२०८०/इस्लामाबाद-
पाकिस्तानमा नवाज शरिफ र बिलावल भुट्टोका दलले नयाँ सरकार बनाउने विषयमा सहमति गरेका छन् ।
गत साता सम्पन्न निर्वाचनपछि भुट्टोको दल पीपीपीले शरिफको दल पीएमएल-एनलाई सरकार निर्माण गर्न सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सन् २०२२ मा इमरान खानलाई सत्ताबाट हटाउन यी दुई दलले गठबन्धन गरेका थिए ।
यस पटक खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) दलसँग आबद्ध स्वतन्त्र उम्मेदवारहरूले अनपेक्षित रूपमा अधिकांश सीट जितेका थिए ।
पाकिस्तानको चुनावमा कुनै एक दलले बहुमत नल्याएपछि कसको दाउ के छ, सेना के भन्छ?
पाकिस्तानको निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप, सरकार बनाउने कसरतमा को-को?
एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा पीपीपीका नेता असिफ अली जर्दारीले आफ्नो दलले पीएमएल-एनसँग प्रतिस्पर्धा गरेको भए पनि दुवै दल राष्ट्रिय हितका लागि एकैठाउँ आइपुगेको बताए।
“हामीले सधैँ त्यसै [लड्ने काम] गरिरहन आवश्यक छैन,” जर्दारीले भने ।
मतपरिणाम कस्तो
पीएमएल-एनले एक विज्ञप्तिमार्फत् दुई दल राजनीतिक स्थिरताको लागि सहकार्य गर्न सहमत भएको बताए ।
प्रत्यक्ष निर्वाचन भएका २६६ क्षेत्रमध्ये ९३ वटामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू विजयी भएका थिए। शरिफको पीएमएल-एनले ७५ सीट जितेको छ भने भुट्टको पीपीपीले तेस्रो हुँदै ५४ सीट जितेको छ ।
निर्वाचनको परिणामका कारण कुन दलले नयाँ सरकार बनाउला भन्नेमा केही अनिश्चितता देखिएको थियो ।
इमरान खान र उनको दलले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् ।
उनीहरूले निर्वाचनको नतिजालाई चुनौती दिने योजना बनाइरहेको समेत बताए ।
“फर्जी मतका भरमा सरकार बनाउने दुराशय नराख्न मत चेतावनी दिन्छु,” खानले भने ।
“दिउँसै डकैती गर्ने त्यस्तो कुराले जनताको अवमूल्यन मात्र गर्दैन, त्यसले देशको अर्थतन्त्रलाई धराशायी पनि बनाउँछ ।”
