रुसमा प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा निधन

राजनीति विश्व समाचार


फागुन ५ शनिबार,२०८०/मास्को-
रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले जनाएको छ ।

उनलाई केही समयदेखि ठाउँसारी गरेर ‘पोलर वुल्फ’ नामक आर्क्टिक सर्कल जेलमा राखिएको थियो ।

रुसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो ।

उनलाई गत वर्ष मात्रै मास्को देखि उत्तर पुर्वमा रहेको निकै कठोर जेलमध्येको आर्क्टिक पेनल कोलोनीमा सारिएको थियो । नभाल्नी मर्निङ वाक पछि बेहोस भएका थिए । तत्कालै स्वास्थ्य कर्मीहरुलाई बोलाएर एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।

“आपत्कालीन चिकित्सकहरूले कैदीको मृत्यु भएको घोषणा गरेका छन् । मृत्युको कारण पहिचानको प्रयास भइरहेको छ,” जेल प्रशासनका अधिकारीले भनेका छन् ।

रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युको खबरबारे राष्ट्रपति पुटिनलाई “जानकारी गराइसकिएको” बताएका छन् ।

उनी एक दिन अघि अदालती सुनुवाइका क्रमको एक भिडिओमा देखा परेका थिए । त्यसबेला उनी ठिकै देखिनुका साथै हाँसिरहेका देखिएका थिए ।

नभाल्नीका वकिलले रुसी सञ्चार माध्यमहरूसँग तत्कालै यसबारेमा प्रतिक्रिया नदिने बताएका छन् ।

नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक थिए । हाल ४७ वर्षका नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएका थिए ।

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलिन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडन्ले पुटिनलेनै उनको हत्या गरेको बताएका छन ।

उता रुसी परराष्ट मन्त्रालयकि प्रवक्ता मारिया जाखारोवाले बिना फोरेन्सिक प्रमाण निसकर्शमा न पुग्न आग्रह गरेकी छन ।

नभाल्नी किन जेल परेका थिए !

सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थिए ।

उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो ।

उनले आफू लामो समयसम्म कोमामा रहेकोबारे अदालतलाई पनि जानकारी गराएका थिए । उनले आफूलाई विष दिइनुअघि हरेक महिना दुई पटकसम्म प्रहरीलाई जानकारी दिएको दाबी गरेका थिए । उनले आफूलाई चुप लगाउन आफूविरुद्ध ठगीको आरोप लगाइएको दाबी गर्दै आएका थिए ।

उनलाई त्यसअघि एउटा अनियमितताको आरोपमा सन् २०१४ मा दोषी ठहर गरिएको थियो ।