फागुन ८ मंगलबार,२०८०/गोदावरी-
काङ्ग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले अहिलेको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको बताएका छन् ।
मंगलबार ललितपुरको गोदावारीमा जारी महासमिति बैठकको दोस्रो दिन महामन्त्री शर्माले सो कुरा बताएका हुन ।
उनले एकल बहुमत कसैको नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको समेत उनले प्रतिवेदनमा लेखेका छन । यसैगरी उनले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल र समीक्षा गर्नुपर्ने राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।
‘संघर्ष र संविधान सभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुराउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन ।
“पटकपटकको संसद विघटन र संविधानको रक्षाका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए। त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ,” उनले प्रतिवेदनमा लेखेका छन ।
महामन्त्री शर्माले राजनीतिप्रतिको विकर्षण अन्त्य गरी देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग बृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षासहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन ।
त्यसैगरी उनले उग्र राष्ट्रवादका कारण बाह्य लगानीको वातावरणलाई विगतमा परेका असरहरूले छोडेका प्रभावहरूको पृष्ठभूमिमा फेरि त्यस्तो स्थिति आउन नदिन गम्भीर सर्तकता अपनाउन जरूरी भएको बताएका छन ।
