
फागुन २३ बुधबार,२०८०/धादिङ-
धादिङको गजुरी गाउँपालिका–५ पृथ्वीराजमार्गको घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या सात पुगेको छ ।
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस विहान त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएका छन ।
प्रहरी उपरीक्षक केसीका अनुसार अलि गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । र दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढन सक्ने बताइएको छ ।
साथै बस चालक रुपन्देहीका ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी लगायतले तीव्रताका साथ उद्धार गरेका थिए । उद्धार कार्य अहिले पनि जारी रहेको जनाइएको छ ।
