फागुन २६ शनिबार,२०८०
चर्चित ९२ वर्षीय मिडिया टाइकून रुपर्ट मर्डोकले प्रेमिका एलेना जुकोभासँग बिहे गर्दै छन ।
रुपर्टले ६७ वर्षीया अवकाशप्राप्त रुसी मलेक्युलर बायोलजिस्ट जुकोभासँग छिट्टै बिहे गर्ने कुरा उनको टीमले जनाएको छ ।
उनको बिहे यही वर्ष क्यालिफोर्निया राज्यको भाइनयार्डमा हुने बताइएको छ । उनले फक्स एन्ड न्यूज कर्पको अध्यक्ष पद गत वर्ष छोडेका थिए । ‘द न्यू योर्क टाइम्स’का अनुसार यहि जून महिनामा बिहे गर्ने कार्यक्रम तय गरिएको र त्यसका लागि निमन्त्रणा बाँडिसकिएको छ ।
अस्ट्रेलियामा जन्मेका मर्डोकले पछिल्लो पटक पादरी एन लेसले स्मिथसँग बिहेको कुरा चले पनि एप्रिल २०२३ मा उनको सम्बन्ध बिग्रेको समाचार बाहिरिएको थियो ।
मर्डोकका पूर्वपत्नीमा अस्ट्रेलियाली एअर होस्टेस प्याट्रिसिया बूकर, स्कटल्यान्डमा जन्मेकी पत्रकार आना मान, चीनमा जन्मेकी वेन्डी डेङ र अमेरिकी मोडल तथा अभिनेत्री जेरी हल हुन ।

उता जुकोभाले पहिला रुसी तेल अर्बपति एलेक्जेन्डर जुकोभसँग बिहे गरेकी थिइन् । उनकी छोरी दाशा व्यवसायी हुन् र उनी रुसी सम्भ्रान्त रोमन अब्रामोभिचसँग सन् २०१७ सम्म विवाह सम्बन्धमा थिइन् ।
को हुन रुपर्ट मर्डोक !
रुपर्ट मर्डोकले यूकेमा सन् १९६९ मा ‘न्यूज अफ द वर्ल्ड’ र ‘द सन’ खरिद गरेका थिए । त्यस्तै उनले अमेरिकामा ‘न्यू योर्क पोस्ट’ र ‘वाल स्ट्रीट जर्नल’लगायत अन्य अमेरिकी प्रकाशन पनि खरिद गरे । सन् १९९६ मा उनले ‘फक्स न्यूज’ सुरु गरे, जुन अहिले अमेरिकामा सबैभन्दा बढी हेरिने टेलिभिजन च्यानल मानिन्छ ।
उनले सयौँ स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका मालिक बनेका छन् ।
विवाद !
उनको करिअर विवादमुक्त भने छैन । उनलाई सबैभन्दा क्षति पुगेको क्षण भने ब्रिटेनको एउटा कुख्यात फोन ह्याकिङ काण्ड हो ।
त्यसमा उनको ‘न्यूज अफ द वर्ल्ड’ले १३ वर्षे स्कुले छात्रा मिली डाउलरको भोइसमेल सुनेको थियो भन्ने सार्वजनिक भएको थियो । ती छात्राको स्कूलबाट घर फर्कने क्रममा अपहरण गरेर हत्या गरिएको थियो ।
गत सेप्टेम्बर महिनामा उनले मिडिया साम्राज्यको अग्रणी भूमिकाबाट पछि हट्ने घोषणा गरेका छन ।
उनले मिडिया साम्राज्य सञ्चालन गर्ने अधिकार उनका छोरा लाचलानलाई सुम्पिएर अवकाश जीवन बिताउने निधो गरेका छन ।
प्रतिक्रिया दिनुहोस्