मन्त्रिपरिषद् विस्तार : उपेन्द्र यादवले लिए शपथ !

अन्य राजनीति


फागुन २७ आइतबार, २०८०/काठमाडौं-
जनता समाजबादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका लागि पद तथा गोपनीयताको शपथ लिएका छन ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नेक्रममा जसपालाई नयाँ मन्त्रिपरिषदमा सहभागी बनाएका हुन ।

यसैगरी जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई शपथ खुवाएका हुन ।

यादव बारा क्षेत्र नम्बर २ र साह सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

नयाँ सरकारमा अब उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले) का रघुवीर महासेठ र रास्वपाका रवि लामिछाने उपप्रधानमन्त्री हुन ।

यो सँगै अब प्रचण्ड नेतृत्व रहेको मन्त्रिपरिषदमा २२ सदस्य कायम भएका छन ।