
चैत्र ४ आइतबार,२०८०/पोखरा-
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समिकरण बनाइएको बताएका छन ।
आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्रीले भने,”कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।”
प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने पनि जानकारी गराए ।
उनले भने, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ । पूर्वदेखि पश्चिमसम्मको तराई-मधेशलाई समेटेर एउटा अभियान चल्नेछ । हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।”
गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए ।
प्रधानमन्त्रीले भने,”गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ । त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।”
केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए ।
उनले भने,”कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशका राजनीति सही बाटोमा आएको छ ।”
