गृहमन्त्री लामिछाने र जीबी राई विरुद्ध राज्य ब्यवस्था समितीमा उजुरी

अर्थ राजनीति समाचार

चैत्र ८ बिहीवार,२०८०/काठमाडौं-
गृहमन्त्री रवी लामिछाने र गितेन्द्रबाबु राई (जिबी राई)विरुद्ध
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले संसदिय राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन ।

समितिका सभापति रामहरि खतिवडालाई भेटेर बिहीबार बचतकर्ता पीडितहरुले आफुले जम्मा गरेको रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै उजुरी दिएका हुन ।

उनीहरूले सहकारीले १८ हजार सात सय जना बचतकर्ताको करिब एक अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको गुनासो गरेका थिए ।

सहकारीका अध्यक्ष जीबी राई फरार रहेका छन भने हालका गृहमन्त्री रवी लामिछानेले गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० औं करोड रुपैयाँ लगानी गरेको पीडितले बताएका थिए ।

पीडितहरुले १९ जनालाई किटानी जाहेरी दिएको भए पनि हालसम्म १४ जना पक्राउ पर्न नसकेको बताएका थिए ।

२०८० माघ २२ गते पुरक जाहेरीमार्फत् हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भए पनि छानबिन नभएको बताइएको छ।

समिति सभापति खतिवडाले सो निवेदनबारे आफू गम्भीर रहेको बताउदै समस्या समाधानका लागि पहल गर्ने बताएका छन ।

पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले आफुहरुले आवाज उठाएको निकै समय भएको भन्दै सहकारी अध्यक्ष राईलाई झिकाउनु पर्ने र कुनै सत्ताको आडमा आफुहरुमाथी अन्याय न गरी सबै पीडितहरुलाई न्याय दिनु पर्ने बताए ।