
चैत्र १० शनिबार,२०८०/मस्को-
मस्कोको एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा मारिनेको सङ्ख्या ११५ पुगेको छ ।
रुसी प्रहरीका अनुसार थप शवहरू क्रोकुस सिटी हलभित्र भेटिएका थिए । शुक्रबार राती बन्दुकधारीहरूको आक्रमणका क्रममा ठूलो आगलागी हुँदा हलको छानो खसेको थियो ।
घटनामा १४० जना भन्दा धेरै घाइते भएका थिए ।
इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनले छिट्टै सबै आक्रमणकारीहरुलाई पक्राउ गर्ने बताएका छन ।
अधिकारीहरूले पक्राउ गरेका ११ जना शङ्कास्पद व्यक्तिहरूमध्ये चारजना घटनामा प्रत्यक्ष संलग्न भएको बताएका छन् ।
एक जना रुसी सांसदका अनुसार घटनाका मुख्य आरोपी चारजना कारमा भागेर घटनास्थलभन्दा सयौँ किलोमिटर टाढा रुसको दक्षिण पश्चिमी क्षेत्र पुगिसकेका थिए ।
किएभका अधिकारीहरूले घटनाका आरोपितहरू युक्रेनी सीमातर्फ भाग्दै गरेको भन्ने रुसी सुरक्षा अधिकारीहरूको दाबीप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ ।
अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएका छन् ।
दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भिडभाड हुने ठाउँमा नजान भनेको थियो ।
रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किएभले बताएको छ ।
परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै रुसी जनता र सरकार, घटनाका पीडित र उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ ।
रुसी राष्ट्रपति पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।
रुसको न्यास्नल गार्डले आक्रमणकारीहरूको खोजी गरिरहेको विवरण आएका छन् ।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ।
रुसी विदेश मन्त्रालयले उक्त ‘बर्बर आक्रमण’ लाई निन्दा गर्न त्यसअघि विश्वलाई अपिल गरेको थियो ।
इस्लामिक स्टेटले किन रुसमाथि आक्रमण गर्छ?
इस्लामिक स्टेटको एउटा भातृ सङ्गठले मस्कोमा भएको आक्रमणमा आफ्नो हात रहेको जनाएको छ ।
यदि त्यो सत्य प्रमाणित भएमा, इस्लामवादी उग्रवादीहरूले रुसभित्र वा रुसलाई निशाना बनाएर गरेको यो पछिल्लो हमला हुनजान्छ ।
सन् २०१५ मा इजिप्टको साइनाइ मरुभूमिमा २२४ जना यात्रु सवार एउटा रुसी विमानलाई खसालिएको थियो । २२४ जना सवार उक्त विमानमा अधिकांश यात्रु रुसी थिए ।
प्रतिक्रिया दिनुहोस्