हानले आफ्ना सदस्यलाई पर्यटकलाई सम्मान गर्न सधैं प्रोत्साहित गरेको छ: माधव दुवाडी

अन्तर्वार्ता पर्यटन राजनीति समाचार

माधव दुवाडी होटेल एसोसिएसन नेपाल (हान)का चितवान शाखा कोषाध्यक्ष हुन।

हजुर कोषाध्यक्षको जिम्मेवारीमा कहिलेदेखि हुनुहुन्छ ?
-यो मेरो दोस्रो कार्यकाल हो । यसको कार्य अवधि ३ वर्षको हुन्छ । एक वर्ष कार्यअवधि बाँकी छ । त्यसपछि फेरि अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ ।

चितवनमा कतिवटा होटल छन् त ?
-हाम्रो संस्थामा आबद्ध लगभग ८० वटा होटेल छन् । हामीसँग संस्थामा आबद्ध लगभग ८० वटा होटलहरू र संस्थामा आबद्ध नभएका र बन्दै गरेका जम्मा लगभग १५० वटा होलान् ।

होटेलको भाडा लगायतको शुल्कको विषयमा हानले कुनै मापदण्ड तोकेको हुन्छ ?
-हान अन्तर्गत दर्ता हुने होटेल पर्यटक स्तरीय होटल मात्र हुन्छन् । गेस्ट हाउस र लजलाई यसमा समावेश गरिएको हुँदैन । पर्यटन क्षेत्रका पर्यटक स्तरीय होटेलहरू हानको मापदण्डमा हुन्छन् । अन्य होटेलको आफ्नै होटल सङ्घ भन्ने संस्था छ । उसले नै मोनिटरिङ गर्छ ।

पर्यटकलाई पारिवारिक वातावरणका लागि केही तालिम सञ्चालन गर्नुभएको छ ?
-अवश्य पनि हामी त्यस्ता किसिमका तालिम सञ्चालन गरिरहेका हुन्छौं । वर्षमा कम्तीमा १० वटा तालिम सञ्चालन गर्छौं जस्तो कि कसरी स्वागत गर्ने, सम्मानका का कुराहरू, किचेनका कुराहरू, सर्भिस, हाउस किपिङ जस्ता अन्य विभिन्न तरीकाको तालीम केन्द्रीय हानले पनि सञ्चालन गर्छ । र प्रायः केन्द्रीय हानको समन्वयमा रिजनले पनि सञ्चालन गर्दै आएको हुन्छ । हानले आफ्ना सदस्यहरुलाई पर्यटकहरुलाई सम्मान गर्न सधैं प्रोत्साहित गरेको छ

तपाईंको आफ्नो होटलका बिषयमा केही भन्नू न ?
-मसँग अहिले दुईवटा होटेल छन् । एउटा होटेल सेभेन स्टार जुन टिममा छ अर्को होटेल वेस्ट रुट मेरो संचालनमा छ । हामीले अतिथिको सत्कार तथा सन्तुष्टिबारे गम्भीर भएर काम गर्छौ ।

चितवन आउने पर्यटकले अन्यत्र भन्दा के फरक पाउँछन् त ?
-हानमा काम गर्ने स्टाफहरूको उनीहरूको वेलकम गर्ने स्टाइल, उनीहरूको बोलीचाली, उनीहरुले गर्ने आदरसम्मान एकदमै सभ्य र फरक छ । चितवनकै कुरा गर्दा विश्व सम्पदा सूचीकृत नेसनल पार्क जति पनि त्यहाँ टाइम स्पेन्ड गर्ने पर्यटक आउनुहुन्छ उहाँलाई जीव सफारी, जङ्गल वाकिङ, नेपालकै हात्तीको प्रजनन केन्द्र लगायत थुप्रै फरक कुराको अनुभव पाउनु हुन्छ ।

पर्यटक बढाउन तपाईँको संस्थाको भूमिका के रहन्छ ?
-नेपाल सरकारले भ्रमण वर्ष घोषणा गर्दैछ 10 वर्षको भ्रमण अवधि घोषणा गर्न लागिरहेको छ । हामीले सरकारी लेभलमा पनि कुराकानी गरिरहेका छौं पर्यटन सचिव, प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री सबैलाई भेटेर कुराकानी गरेका छौँ । अब हामीले गर्ने भनेको संस्थागत सुधार गर्नुपर्ने ठाउँलाई यो गर्नुपर्यो भनेर डेलिगेसनमा जाने हो, सुधार गर्न आग्रह गर्ने हो । यसमा हान लागिरहेको छ । नीति बनाउने कुराहरू जस्तो कोभिड पछि होटेललाई गाह्रो भयो त्यसमा रिफाइनान्सिङ अन्य राष्ट्रबैंकले दिने सुविधाहरुलाई कसरी चाहिँ व्यावसायी सम्म पुर्याउन सकिन्छ भनेर लबिङ गर्ने कुराहरू यस्तै यस्तै कामहरू चाहिँ हामीले गर्छौं । यही नीतिगत स्तरमा चाहिँ के गर्दा उपयुक्त हुन्छ कसरी काम गर्दा बढी पर्यटक ल्याउन सकिन्छ ? कसरी प्रबर्धन गर्न सकिन्छ भन्ने कुरामा हान केन्द्रित भएर लागेको छ।

पर्यटन विकासमा राज्यले के गर्दिए उपयुक्त हुन्छ जस्तो लाग्छ ?
-केही नीति स्तरबाट सोच्नुपर्नेछ । पर्यटन नीतिमा चाहिँ परिवर्तन गर्नुपर्ने धेरै कुराहरु छन् । जस्तो चितवनकै सन्दर्भमा हेर्ने हो भने चितवनमा अहिले चितवन नेसनल पार्कले प्रवेश एक दिनको लागि मात्रै दिन्छ । पर्यटक एक दिनमा कार्यक्रम गर्न भ्याएन भने त्यसको इन्ट्रान्स टिकट त्यत्तिकै खेर जान्छ । भोलिपल्ट अर्को टिकट नकाटी कार्यक्रम गर्न पाउँदैन । हामीले त्यो टिकटको म्याद कम्तीमा तीन दिनको लागि बनाइ दिनुस भनेका छौँ । अर्को कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्दा पर्यटक आउने गेटमा जहाँ आगमन भिजाको लागि भनेर मेसिन राखिएको छ; त्यहाँ सहजीकरण गरिदिने मान्छे छैन । जस्तो कति चाइनिजहरु चाहिँ अंग्रेज़ी नबुझ्ने पनि हुन्छन् । त्यस्तै विभिन्न देशका पर्यटकहरुलाई समस्या परिराखेको हुन्छ | जुन आगमन पासपोर्ट चेक गरेर पठाउने काउन्टरमा जम्मा २४ वटा काउन्टरहरू छन् जसमा चार पाँचवटा भन्दा बढी चलेको पाइँदैन । अर्को कुरा पर्यटक जाने ठाउँको भाडा कति, दुरि कति? भन्ने कुरा पर्यटकलाई स्पष्ट रुपमा जानकारी हुनेगरी सहजीकरणको व्यवस्था गर्नुपर्छ ।

हजुरको संस्थाको अन्य पर्यटन व्यवसायीहरूसँगको सम्बन्ध समन्वय कस्तो छ ?
-हामी अन्य पर्यटन व्यवसायीहरूसँग विभिन्न कुरामा समन्वय गरेरै अघि बढिरहेका हुन्छौं । जस्तै पर्यटन क्षेत्र विकासको निम्ति सरकारले गर्नुपर्ने कुराहरुमा चाहिँ संयुक्त रुपमा मागहरु लिएर प्रस्तुत गर्छौं, पर्यटन सम्बन्धी देश तथा विदेशमा हुने विभिन्न किसिमका कार्यक्रमहरुमा हाम्रो समन्वय हुन्छ ।

चितवनमा हरेक पर्यटन वर्षको अवधिमा अथवा विभिन्न समयमा कति पर्यटकहरुले भ्रमण गर्नु भएको छ ? र चितवनका होटेलहरुले कति पर्यटकलाई थेग्न सक्ने क्षमता छ ?
-२०१९ लाई हेर्दा २ लाख ६४ हजार नेसनल पार्कको रेकर्डमा छ । २०१९ लाई २०२४ ले विस्थापन गर्ने अवस्था होला भन्ने आश गरेका छौं । प्रत्येक वर्ष हामीले चितवनमा १० लाख पर्यटक सर्भिस दिने क्यापासिटी चाहिँ राख्छौं ।

हानका अबका योजनाहरू के छन ?
-राज्यसँग हातेमालो गर्दै राज्यको नीति भित्र बसेर प्रबर्द्धनका कामहरू गर्छौं । टुरिजम बोर्डसँग, मन्त्रालयसँग अन्तर्राष्ट्रिय स्तरमा त्यहाँको संस्थासँग समन्वय गरी पर्यटन विकासका कामहरु गर्छौ । पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न देशका संघ संस्थाहरुसँग समन्वय, छलफल गरि प्रबर्द्धन तथा तालिमका कामहरु गर्छौं ।

बेलाबेलामा पर्यटक ठगिएको कुराहरू आउने गर्छन, हानले के एक्सन लिन्छ ?
-तेस्तो त खासै हुदैन किनभने सबै कुराहरु अनलाइनबाटै फिक्स भैसकेको हुन्छ । कतै गलत बुझाईको कारण तेस्तो हुन गएमा तुरुन्त उपस्थित भई जाँचबुझ गरेर सहजीकरणमा अगाडि बढ्छौं । होटेलको मात्रै पनि कमजोरी हुँदैन कहिलेकाहीँ पर्यटकको पनि कमजोरी हुन सक्छ । त्यहाँनेर भएको गलत बुझाईको सहजीकरण गरेर होटल व्यवसायलाई पनि स्पष्ट पार्छौँ र पर्यटकहरूलाई पनि खुसी पारेर पठाउँछौं ।

नयाँ होटल व्यवसाय गर्ने चाहनेहरूका लागि के सल्लाह दिनुहुन्छ ?
-पर्यटकको आगमन हेरेर काम गर्न अनुरोध गर्दछु | अहिले कोभिडको कारणले सुस्ताएको व्यवसाय पर्यटन क्षेत्र उठ्दै गरेको अवस्था हो । यो अवस्था भनेको लगानी गर्ने अवस्था हो र पुरानो व्यवसायीहरूले अपग्रेड गर्नुस हानले गर्नुपर्ने सहजीकरणको पाटोमा कुनै कन्जुस्याइँ हुँदैन ।

मन्दीलाई मध्यनजर गर्दै हानको नेतृत्वमा होटेल व्यवसायीहरूले दररेट घटाउने वा कुनै प्याकेजहरु ल्याएको छ ?
-अवश्य पनि छ भिजिट एयरलाई टार्गेट गरेर नयाँ नयाँ स्किमहरु सिर्जना गरिराखेका हुन्छौँ । होटल व्यवसायीहरूले पनि यो कोभिड पछाडि १५ देखि २५ प्रतिशत सम्म बसाईमा कम गरेर अफर ल्याउनु भएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रमहरु हानले नै सहजीकरण गरी विभिन्न किसिमका स्किमहरु प्रदान गरेको छ ।

अन्त्यमा छुटेका विषयवस्तुहरू ?
-अहिले बन्दै गरेका भौतिक पुर्वाधारहरु पुरा गर्न जरुरी छ । बैंकिङ समस्याको बारेमा पनि राज्यले सोच्दिनुपर्छ । राज्यले एउटा कंक्रिट प्लान चाहिँ ल्याउनुपर्छ यसको लागि हामी तयार छौं पर्यटकलाई स्वागत गर्न हामी तयार छौं, आतुर छौँ । हामी छाता संगठन हौँ हामीले राज्यलाई पनि फाइदा हुने र हाम्रो सम्पदाहरुलाई पनि हित हुने गरी कसरी अगाडि बढाउन सकिन्छ भनेर सोचेर लागेका हुन्छौं । विशेषगरी हामीले संरक्षण गरेका चिजलाई कसरी चाहिँ प्रतिफल दिन सक्ने बनाउने भन्ने बिषयमा लाग्छौ । र त्यसलाई जोगाउँदै कसरी मानिसको जीविकोपार्जन, जीवनस्तर उकास्न सकिन्छ भन्ने हिसाबले हामीले सोच्ने कुरा हुन्छ ।