जेठ १५ मंगलबार, २०८१/काठमाडौं-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस २०८१ को अवसरमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनहरू, जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहितका सङ्घर्षका महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शुभकामना दिएका छन ।
प्रधानमन्त्री प्रचण्डले गणतन्त्र प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता दिदीबहिनी दाजुभाइहरूप्रति उच्च सम्मान प्रकट गरेका छन ।
“गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा छ,” उनले शुभकामनामा पत्रमा उल्लेख गरेका छन ।
“नेपालको संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको छ,” उनले बताए ।
त्यसैगरी उनले सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी आफ्नो कार्यसम्पादन गरिरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्