जेठ २८ सोमबार,२०८१/नयाँ दिल्ली-
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरेका छन ।

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । उनी हिजो आइतबार नै भारतको नयाँ दिल्ली पुगेका थिए ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।
प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उनकी स्वकीय सचिव गङ्गा दाहाल, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी रहेका छन । प्रधानमन्त्री आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
